दुर्गाप्रसाद गौतम ।
नेपालमा पछिल्लो समय आमनागरिकको अनुभूति गर्नेगरी विदेशीहरुको हस्तक्षेप नेपालको आन्तरिक मामिलामा बढ्दै गईरहेको छ । प्रत्येक १०/१५ वर्षको अवधिमा नेपालको राजनैतिक वृत्तमा देखापर्ने तरलता र अस्थिरताको अवस्थाले पनि विदेशीहरुको उच्चस्तरको नेपालको आन्तरिक मामिलाको हस्तक्षेपलाई पुष्टि गर्दछ । नेपाली अर्थतन्त्रमा लामो समयदेखि नै यहाँको राजनैतिक क्षेत्र, साधन र स्रोतको परिचालन सम्बन्धमा विदेशीहरुको चासो रहीआएको हो । यही भएर पनि विदेशीहरुले आफ्नो चासोलाई सजिलै सम्बोधन गर्ने खालको सरकार चाहने कारणले नै नेपालमा प्रणालीगत नै सरकारहरु अस्थिर भएका हुन् र यहाँ सधै राजनीतिक अस्थिरता मौलाएको हो ।
वि.सं. २००७ सालमा राणा शासनको अन्त्यका लागि दिल्लीमा सम्झौता भएसँगै नेपालको आन्तरिक मामिलामा भारतीयहरुको चासो रहँदै आएको तथ्य हाम्रो माझ स्पष्ट छ । २००७ सालमा राजा, कांग्रेस र राणाहरु बीच भएको दिल्ली सम्झौताबाट प्राप्त प्रजातन्त्र २०१७ साल पौष १ गते राजा महेन्द्रको हातबाट कु भै पञ्चायती व्यवस्थाको थालनी हुनुमा पनि कतै न कतै भारतीयहरुको हात र हस्तक्षेप रहेको कुरा तत्कालिन समयका भारतीय नेताहरुको नेपालको राजनैतिक गतिविधि माथिको तत्कालिन चासो र हस्तक्षेपबाट प्रष्ट हुन सकिन्छ ।
यदि मुलुकको विद्यमान समकालिन राजनैतिक नेतृत्वले राष्ट्रिय हितको स्पष्ट दृष्टिकोण निर्माण गर्न सकेन, समकालिन राष्ट्रिय चाहनाहरुको पूर्ति गर्न सकेन, केवल सत्ता र.शक्तिका खातिर विदेशी सरकार, संस्था र शक्तिलाई गुहार गर्ने राष्ट्रिय महत्वपूर्ण तथा संवेदनशील तथ्यांकहरु निहित स्वार्थका लागि विदेशीहरुको स्वार्थ अनुकुल उपलब्ध गराउन, विदेशीहरुको चाहना अनुसार उनीहरुको हितका लागि राष्ट्रमाथि गद्दारी हुने क्रियाकलापमा संलग्न हुने गर्यो भने यसले विदेशीलाई मुलुकको राष्ट्रिय स्वाधिनता माथि प्रहार गर्दै यिनीहरुको निहित स्वार्थपूर्ति गर्ने आधारहरु निर्माण हुन्छन् ।
यस्ता आधारहरु हाम्रो मुलुकको सन्दर्भमा यहाँको राजनैतिक नेतृत्वले विदेशी सरकार तथा अन्तर्राष्ट्रिय खुफिया ऐजेन्सीहरुलाई उपलब्ध गराउँदै आईरहेका छन् भन्नेमा आमनेपाली जनतामा शंका बढेको छ । यही कारण नेपालीको आन्तरिक मामिलामा पछिल्लो समय विदेशीहरुको ठाडो हस्तक्षेप तीव्र हुँदै गएको छ ।
पछिल्लो समय नेपालमा दुई छिमेकी मुलुकहरु चीन र भारतको हस्तक्षेप राजनैतिक क्षेत्रमा कुटनीतिक मर्यादालाई समेत भुलेर हुन थालेको आवाज आमलोकले गर्न थालेको छ । यस बाहेक यूरोपियन यूनियन र अमेरिकाको पछिल्लो चासो र जिज्ञासालाई केलाउँदा नेपालको आन्तरिक मामलाका कतिपय विषय र सन्दर्भमा यिनीहरुको चासोमा पनि दिनानुदिन तीव्र वृद्धि हुँदै गएको कुरा सजिलै आभाष हुन्छ । जुन कुरा कुनै पनि स्वतन्त्र सार्मभौमसत्ता सम्पन्न मुलुकले किमार्थ स्वीकार गर्न सक्दैन । यदि स्वीकार हुँदै गएको छ भने मुलुकले धेरै लामो समयसम्म आफ्नो सार्वभौमसत्ताको ग्यारेन्टी र स्वतन्त्रताको ग्यारेन्टी गर्न सक्दैन ।
यदि नेपाली अर्थतन्त्रको आन्तरिक मामलामा विदेशीहरुको चासो र हस्तक्षेप यही क्रममा निरन्तर बढेर गइरहने हो र हाम्रो राजनैतिक नेतृत्व आफ्नो गुटगत र व्यक्तिगत स्वार्थमा लिप्त हुँदै केवल सत्ता र शक्तिका लागि विदेशीहरुको ठाडो हस्तक्षेपलाई स्वीकार गर्ने र कतिपय सन्दर्भमा गुहार्ने परिपाटी कायम नै रहने हो भने नेपाल ढिलो चाँडो विदेशीहरुका पूर्वनियोजित अनिष्टहरु पूरा गर्ने कृडास्थल बन्ने सम्भावना बढेर गएको छ । यसले नेपालको सार्वभौमिकतामा नै प्रश्न चिन्ह खडा गरी मुलुक नै धरासायी हुने होकी भन्ने खतरा पैदा गरेको छ । त्यसैले बेलैमा नेपालको समकालिन राजनीतिमा हुँदै आएको वैदेशिक हस्तक्षेपलाई न्यूनिकरण गर्दै अस्वीकार गर्ने प्रणालीलाई विकसित गर्दै नेपाली राजनीतिज्ञहरु अगाडि बढ्ने प्रयत्न सबै राजनीतिक दलका नेतृत्वहरुबाट हुन जरुरी छ ।
वर्तमान समाकालीन नेपाली समाजको राजनीतिक नेतृत्व राष्ट्र र जनताप्रति भन्दा पनि आफ्ना विदेशी प्रभुप्रति सत्ता र शक्तिका लागि बढी विश्वस्त छ जस्तो देखिन्छ । यही भएर पनि पहिलो समय विदेशीहरुको नेपालको आन्तरिक विकसित राजनीतिक घटनाक्रममा बढी चासो र जिज्ञासा बढ्दै गएको हो भन्ने प्रष्ट छ । २०६२÷६३ साल भन्दा अगाडि नेपालको राजनीतिमा भारतीयहरुको चासो अलि बढी हुने गथ्र्यो अनि बाँकी विश्वले नेपाललाई हेर्ने दृष्टिकोणप्रति भारतले नेपाललाई हेर्ने दृष्टिकोणका आधारमानै निर्माण गर्ने गर्दथे ।
तर पछिल्लो समय नेपाली राजनैतिक वृत्तमा विकसित भएका घटनाक्रमहरुमा छिमेकी मुलुक चीनको चासो र जिज्ञासा पनि भारतको जस्तै हुँदै गएको छ र साथै कतिपय सन्दर्भमा त चीनको चासो भारतको भन्दा पनि बढ्ता हुन थालेको छ । यसले गर्दा अमेरिका र युरोपियन युनियनको चासो पनि पछिल्लो समय तीवै हुँदै गएको छ । यी सबैका पछाडि पछिल्लो समय शक्ति र सत्तामा जाने होडबाजीमा नेपाली राजनीतिक नेतृत्वले विदेशीहरुमाथि गर्दै आएको तुम शरणम् नै हो भन्न सकिन्छ । यदि हाम्रो नेतृत्वले सत्ता र शक्तिका लागि विदेशी शक्तिका सामु तुम शरणम गर्ने प्रवृत्तिलाई जानी जानी राख्ने हो भने अबको केही वर्षभित्र नै नेपाल र नेपालीको अस्तित्व खतरामा पर्न सक्छ । अतः बेलैमा नेपालको राजनैतिक नेतृत्व मुलुक र जनताप्रति जिम्मेवार हुन जरुरी छ ।
मुलुकका आफ्नै खालका भौगोलिक, सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक तथा नैतिक धरातल र विशेषताहरु हुने गर्दछन् । राजनैतिक नेतृत्व यदि आफ्नो उक्त धरातलमा दृष्टिगोचर पुर्याउन सक्षम छ भने उसले आफ्नो मौलिकतामा आफ्ना समस्याहरुलाई उजागर गर्ने र सो समस्याको हल पनि आन्तरिक रुपमा नै पहिचान गरी समाधान उपायहरुको खोजी गर्दछ । जसको कारण अन्तर्राष्ट्रिय जगतले मुलुकको आन्तरिक मामलामा त्यति धेरै चासो राख्ने अवसर पाउँदैन र विदेशी हस्तक्षेप स्वतः कम भएर जान्छ ।
यदि मुलुक आफ्ना मौलिक विशेषताहरुको उपयोगमा खरो उत्रन सकेन भने मुलुकमा विभिन्न खालका समस्याहरु उत्पन्न हुन्छन् जसले गर्दा समुदायबीच नै आर्थिक, धार्मिक, सांस्कृतिक र सामाजिक व्यवहारहरुमा नै फरक फरक सोचको जन्म हुन्छ । यसले एकातर्फ आन्तरिक मुलुकको एकतालाई कमजोर बनाउँछ भने अर्कोतर्फ स्वार्थ प्रेरित बाह्य मुलुकका सरकारहरु तथा संस्थाहरुलाई अस्थीर अवस्थाको फाइदा उठाउँदै आफ्नो स्वार्थ पूरा गर्न विभिन्न दवावहरुको सृजना गर्ने अवसर प्राप्त हुन्छ ।
त्यसैले बेलैमा यस्तो अवस्था सृजना हुने तर्फ ध्यान केन्द्रित नेतृत्वले गर्नु जरुरी छ । यही कुरा नेपालको सन्दर्भमा पछिल्लो समय निरर्थक हुँदै गइरहेको छ । जसको पछिल्लो ज्वलन्त उदाहरण ६४ प्रतिशत बहुमत प्राप्त पार्टीको सरकारले आफ्नै पार्टीको अर्को गुटसँगको आन्तरिक विवाद चुलिदै जाँदा विघटन गरेको प्रतिनिधिसभालाई लिन सकिन्छ । प्रतिनिधिसभा विघटनपछि छिमेकी चीनबाट भएको उच्चअधिकारीहरुको नेपाल भ्रमण र उनीहरुले दिएको चासोलाई हेर्दा पछिल्लो समय नेपालको आन्तरिक मामिलामा विदेशीहरुको हस्तक्षेप अरु बढ्ने देखिन्छ । बेलैमा हामीले जुनसुकै छिमेकी मुलुकबाट हुने हस्तक्षेपलाई अस्वीकार र खबरदारी नगर्ने हो भने वैदेशिक हस्तक्षेपकै कारण नेपालको राष्ट्रिय स्वाधिनतामाथि खतरा पैदा हुनेछ ।
लेखक आर्य स्कूल सितापाइलाका संस्थापक प्रिन्सिपल हुन् ।