यो सरकार नढलेसम्म यस्ता अपराध भइरहन्छन्ः रवि लामिछाने

गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान सरकारको रवैयाविरुद्ध उत्रिन आह्वान गरेका छन् ।

सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार कास्की अदालमा उपस्थित गराउने क्रममा पत्रकारहरुसँग कुरा गर्दै सभापति लामिछानेले केपी ओली नेतृत्वको सरकारकाविरुद्ध उत्रिन आमजनतालाई आह्वान गरेका हुन् । उनले ओली सरकार रहुन्जेल जनताले धेरै दुःख पाउने बताए ।

उनले भने, ‘यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहन्छ । यो सरकार नढलेसम्म, केपी ओलीको शासनसत्ता रहिरहेसम्म यस्ता अपराध भइरहन्छन् । यो सरकारबाट देश कहिल्यै बन्दैन । भ्रष्टाचारीलाई संरक्षण गरेर, सारा सहकारी ठग पार्टीभित्र पालेर, भ्रष्टाचारको जगमा उभिएर अर्कालाई ठग भनेर झूट्टा मुद्दा लगाउने ? मलाई जस्तै डेढ वर्ष लगाएर ओलीलाई छानविन गर्ने हो भने सबैभन्दा भ्रष्टाचारमा उभिएको मानिस केपी ओली हो । उनी देशको प्रधानमन्त्री हुनु दुर्भाग्य छ ।’

उनले आफूलाई अदालतले न्याय दिने बताए । उनले भने, ‘अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छ ।’

सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा पक्राउ परेका लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । शुक्रबार पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनीविरुद्ध अनुसन्धान गर्न म्यादको अनुमतिका लागि अदालतमा उपस्थिति गराइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *