पाको उमेरमा बच्चा जन्मिँदा कति जोखिम ?

अहिले मानिसहरूले पाको उमेरमा पनि सन्तान जन्माएको देखिन्छ। बुवा बनेका केही मानिसको उमेर अलिक धेरै नै छ। केही साताअघि ८३ वर्ष अभिनेता अल पाचिनो र उनकी २९ वर्षीया प्रेमिका नूर अलफल्लाहको सन्तानको जन्म भयो। अल पाचिनो चौथो पटक पिता बनेका हुन्।

ढिलो गरी सन्तान जन्माउने पुरुषको समूहमा विभिन्न पटक अल पाचिनोको सहअभिनेता बनेका रोबर्ट डे निरो पनि छन्। उनले गत महिना ७९ वर्षको उमेरमा आफू सातौँ सन्तानको बाबु बनेको कुरा पुष्टि गरेका थिए।

बढी उमेरमा सन्तान जन्माउने उनीहरू मात्र हैनन्। जीवनको उत्तरार्धमा कैयौँ पुरुष अभिनेता, सङ्गीतकर्मी र अमेरिकी राष्ट्रपतिहरूले समेत सन्तान जन्माएका छन्। सामान्यतया नयाँ बुवाहरूको औसत उमेर केही वर्षयता बढ्दै गएको तथ्याङ्कले देखाउँछ।

अमेरिकामा सन् १९७२ र सन् २०१५ बीचमा बुवाको औसत उमेर ३.५ वर्षले बढेर ३०.९ वर्ष पुगेको छ। सन् २०१५ मा मेडिकल जर्नल ‘ह्यूमन रिप्रोडक्शन’मा प्रकाशित एक अध्ययनअनुसार आफ्ना सन्तान जन्मिँदा नौ प्रतिशत बुवाहरू कम्तीमा ४० वर्ष पुगेका थिए।

गिनिस वर्ल्ड रेकर्ड्सका अनुसार सबैभन्दा ज्येष्ठ उमेरका बुवा ९२ वर्षका भए पनि अनौपचारिक दाबीमा कहिलेकाहीँ अन्य मानिसहरू समेत देखा परेका छन्। यद्यपि पुरुषले पाको उमेरमा सन्तान जन्माउँदा केही जोखिमहरू भने छन्।

सन् २०२२ डिसेम्बरमा यूनिभर्सिटी अफ यूटा र अन्य संस्थाका अध्ययनकर्ताहरूले ‘उन्नत अभिभावकत्वको उमेर’ बारे एउटा विस्तृत समीक्षा प्रकाशित गरेका थिए। त्यसमा बच्चा जन्माउने क्षमतामा पर्ने प्रभाव, गर्भावस्थामा हुने समस्या र बालबालिकाको स्वास्थ्यमा पर्ने असर केलाइएको छ।

धेरैजसो अध्ययनले असामान्य भएको हुनाले अल पाचिनोको उमेरका धेरे मानिसलाई नसमेट्न सक्छन्। प्रमाणहरूले भने ४० वर्षदेखि नै मात्रा, सङ्ख्या, गतिशीलता र उत्परिवर्तनका हिसाबले शुक्रकीटको गुणस्तर कम भइसकेको हुन्छ।

ती परिवर्तनहरूको अर्थ पिता हुने उमेर बढी हुनु ‘बच्चा जन्माउने क्षमता कम हुनुसँग मात्र होइन, स्वाभाविक गर्भधारणपछि गर्भ खेर जाने उच्च जोखिमसँग पनि सम्बन्धित भएको’ अध्ययनकर्ताहरूले लेखेका छन्।

कैयौँ अध्ययनहरूले बढी उमेरका पुरुषबाट गर्भधारण हुँदा गर्भपतनको जोखिम उच्च हुने देखाएको बताएका छन्। त्यसपछि जन्मिने शिशुमा पनि रोगको जोखिम रहन्छ।

सन् १९५० को दशकपछि थाहा भएअनुसार वृद्ध बुवाका सन्तानहरूमा ‘एकन्ड्रोप्लेज्या’ भनिने आनुवंशिक समस्या देखिने सम्भावना उच्च हुन्छ। तर त्यसयता त्यसको अन्य अवस्थासँगको सम्बन्धबारे पनि थाहा भएको छ।

यूटाका अध्ययनकर्ताहरूले लेखेका छन् : ‘बढ्दो रूपमा के कुरा स्पष्ट भइरहेको छ भने बढी उमेरमा गरिने विवाहजस्तै बढी उमेरमा सन्तान जन्माउनुको सम्बन्ध…सन्ततिहरूको कमजोर स्वास्थ्यसँग जोडिन सक्छ।’

बच्चालाई कस्तो जोखिम ?

उदाहरणका रूपमा, स्ट्यान्फर्ड यूनिभर्सिटीका अनुसन्धानकर्ताहरूले पिता वृद्ध भएकै कारण सन्तानहरू कम तौलका हुने र तिनमा सीजर (मूर्छा पर्ने वा छोप्ने रोग) हुन सक्ने जोखिम हुने जनाएका छन्।

धेरै उमेर भएपछि बच्चा जन्माउँदा सन्तानमा बाल्यावस्थामा हुने क्यान्सरको दर उच्च हुने एवं जन्मजात मुटुसम्बन्धी समस्याहरू देखिने पनि पाइएको छ।

यद्यपि बुझ्नुपर्ने कुरा के हो भने स्वास्थ्यस्थिति र सम्भावित कारणको सम्बन्ध हेर्ने कैयौँ अध्ययनहरूझैँ त्यसको प्रक्रिया भने अस्पष्ट छ।

अभिभावकका जीवनशैली र पर्यावरणीय प्रदूषणजस्ता अन्य जटिल पक्षले समेत त्यस्तो अवस्थामा भूमिका निर्वाह गरेका हुनसक्छन्।

तैपनि पुरुषको उमेर बढ्दै जाँदा शुक्रकीट बनाउने कोशिकामा हुने उत्परिवर्तन र डीएनए नष्ट भई आउँदा त्यसको असर भविष्यका पुस्ताहरूसम्म पुग्न सक्ने अध्ययनकर्ताहरू बताउँछन्।

जे भए पनि यस्ता अध्ययनहरूका कारण सामान्यतया चिकित्सक र वैज्ञानिकहरूले बच्चा जन्माउने क्षमतालाई फरक रूपमा सोच्न थालेका छन्।

विगतमा गर्भधारणमा समस्या आउँदा महिला र उनको उमेरमाथि धेरै चर्चा गरिन्थ्यो। धेरै अध्ययनहरू नै महिलाहरूको गर्भधारण गर्न सक्ने क्षमतामा केन्द्रित थिए।

तर क्रमशः स्पष्ट हुँदै गएको कुरा के हो भने महिलाको तुलनामा पुरुषको गर्भधारण गराउन सक्ने क्षमता बिस्तारै कमजोर हुने भए पनि पिता हुन लागेका व्यक्तिको उमेर पनि उत्तिकै महत्त्वपूर्ण छ।

हाललाई अल पाचिनो र डे निरो वा ७० वर्ष नाघेका अन्य पुरुषहरूको सन्दर्भ दुर्लभै पाइन्छ। तर समग्रमा बुवा बन्ने कुरा अब युवा उमेरको विषय मात्र रहेको देखिँदैन।

सन् १९७० को दशकयता ३० वर्षभन्दा कम उमेरका अमेरिकी बुवाहरू २७ प्रतिशतले घटेका पाइन्छन् भने ४५-४९ उमेर समूहका बुवाहरू ५२ प्रतिशतले बढेका देखिन्छन्।

अहिलेकै क्रम जारी रहेमा औषधि र सामाजिक धारणा स्वाभाविक रूपमा यस कुरामा अभ्यस्त हुनुपर्ने छ।

-रिचर्ड फिशर
बीबीसी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *