रास्वपाका सभापति रवि लामिछाने पार्टी कार्यालय बनस्थलीबाट पक्राउ

काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । जिल्ला अदालत कास्कीको अनुमतिमा प्रहरीले लामिछानेलाई शुक्रबार साँझ पार्टी कार्यालय बनस्थलीबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नुअघि पार्टी कार्यकर्तालाई सम्बोधन गर्दैै लामिछानेले अदातलमाथि आफूको विश्वास रहेको बताए । उनले आफूले कुनै गल्ती नगरेको र न्यायको परीक्षा दिन जाने बताएका थिए । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीवी राई) सँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको संसदीय छानबिन समितिको निष्कर्ष छ । लामिछाने गोर्खा मिडियाका प्रवन्ध निर्देशक थिए ।

लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधमा पनि अनुसन्धान हुने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई संगठित अपराधमा पनि अनुसन्धान गर्नका लागि पक्राउ गर्न अदालतबाट अनुमति लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *