सुवोधराज प्याकुरेल ।
घर नै असली व्यापार भएको छ । आफ्नो अंशको केही प्रतिशत लगानी । त्यसमा बैंकको लगानी भएपछि जमिन र भवन पूरा । अनि बजारको खोजीमा रहेका बिक्रेताको लर्को जो उधारोमा सामान बेच्न बाध्य हुन्छन् । जुन भवनको जति बढी सञ्जाल छ त्यसको शान त्यति नै बढी । बेचेको सामानमा आफ्नो कमिशन काटेर समयबद्ध भुक्तानी गरिदिए लाख हुन्थ्यो । आफैं भूईँबाट उठेका साहुजीले अरुको मर्मप्रति सम्वेदनशील भइदिए हुन्थ्यो । तर हुँदोरहेछ ठिक उल्टो । हिजोका गरीब आज बलिया हुँदा नहुँदै ठूला घर,महँगा मोटर,शान र तामझाम प्रति हुरुक्कै भएको बढी देखिने गर्छ ।
अबको युग विद्युतीय व्यवस्थापनको युग हो । कार्यालयको फाइल स्वचालित मेसिनले बेसमेन्टबाट सम्बन्धित कोठामा ल्याउने तरिका ०४१ सालमा हेलिप्याक्स फाइनान्समा देखाउन ब्राडफोर्ड विश्वविद्यालयले अध्ययनको क्रममा लगेको थियो र म चकित परेको थिएँ । त्यसको १० वर्षपछि त सबै कम्प्युटरको सर्भरमा राख्ने र विद्युतीय दस्तखतले सबै काममा औपचारिक मान्यता पाइसकेको थियो । बातैपिच्छे आमनेसामने भएर याचना गर्नुपर्ने प्रणाली याचकहरुलाई रुचिकर हुन्छ । स्वाभिमानी सक्षम र स्वायत्तहरु आ–आफ्नो क्षमतामा विश्वास गर्छन र नतिजामा आधारित भएर दाबी गर्छन्।
यस्तो बेलामा मिनजीका लागि त भब्य भवन नै सफलताको सुत्र हुने नै भयो । किनकी उहाँको धन्दाको आधार त्यही हो । It’s other’s money and my brain. तर मिनजीले बाँधीदिने अजङ्गको हात्तीको स्याहार सम्भार कसरी गर्ला एमालेले भनेर चिन्ता गर्न पाइने कि नपाइने ? अनि कुनै गरीब झुत्रे सर्वहारा श्रमिकले जीवन अर्पित गरेको पार्टी कार्यालयमा छिर्नु अघि हच्किनु पर्ने अवस्थाको निरुपण कसरी गरिएला ? चासो राख्न पाइने कि नपाइने ? गाउँघरकाले ठूलो पार्टीको नेता हुन ठूलो घर चाहिन्छ भन्ने सन्देश व्यापक नहोस् भन्न पाइने कि नपाइने? भ्रमपूर्ण काम, मनपरी तिलस्मी निर्णय भयो कि भनेर सोधपुछ गर्न पाइने कि नपाइने ? केपी नगर बनाउनुपर्छ भनेर जमजमाउने साइबर–सेनाको चाप्लुसी प्रति विरक्तिन पाइने कि नपाइने ? एकातिर पार्टीलाई सम्पूर्ण जनताको भन्ने अनि आलोचनालाई बिरोध ठानेर मनपरीसँग त्यो सरोकार भर्त्सनायोग्य छ भनेर रेडियोमा कुर्लन पाइने कि नपाइने ? नेताले सार्वजनिक रुपमा खुलस्त गरेको कुरामा, भूइँतहसम्म पुग्नेगरी गरेको कामको बारेमा चर्चा चाहिँ तथाकथित विधिसम्मत भन्दै कहाँबाट आलोचना थाल्ने, टोल कमिटीदेखि ? वाहियात कुरा ।
आउनुस्, खुल्ला बहस गरौँ । आज राजेन्द्र गौतमको अन्तर्वार्ता र हिजो गुरु बरालको वाचन सुनेपछि त दिक्कै लागेको छ । उहाँहरु दुबैजना सँगै जननेता मदन भण्डारीसँग मैले प्रशस्त सान्निध्य पाएको हुँ । केही यस्तै घटना छन् जसमा उहाँहरु जानकार हुनुहुन्छ । लौ आउनुस् बहस गरौँ । दर्जाका लागि यो हदको चाप्लुसी हजम भएन, हुँदैन र हुनुहुन्न । हामी मरेका छैनौँ।
असल कुरा असल मान्छेलाई सिकाउने कि बाख्राको टाउकामा रांगाको सिङ सिउरिने ? जनतालाई सक्षम बनाउने कि नवउदारवादी रमझम देखाएर लट्याउने ? आउनुस् फैसला गरौँ । यस्ता रफ्फु र भर्त्सनाले कुनै लछारपाटो लगाउनेवाला छैन । यस्तै छूचो चालले हो अराजक सिद्धान्तविहीनहरुले जगजगी फैलाएका । मन होइन मष्तिस्कले सोच्न थाल्नुस् ।
