प्रहरी सङ्गठन सुदृढ गर्न नयाँ ऐनको मस्यौदा तयार गरिँदैछः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी सङ्गठन सुदृढीकरण गर्न विद्यमान कानुनी व्यवस्थालाई प्रतिस्थापन गरी नयाँ ऐनको मस्यौदा तर्जुमा गरी आवश्यक प्रकृया अगाडी बढाएको बताएका छन् ।

६९औँ प्रहरी दिवसका अवसरमा बुधबार आयोजित समारोहमा गृहमन्त्री लेखकले उक्त विधेयकले कानुनी मान्यता प्राप्त गरेपश्चात नेपाल प्रहरीको वृहत्तर हित, प्रहरी कर्मचारीको वृत्ति विकास र संगठनको जिम्मेवारी तथा कर्तव्यका नयाँ आयामहरू पहिचान हुनेविश्वास व्यक्त गरे ।

नेपाल प्रहरी एउटा जीवन्त संगठन भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता तथा स्वाधीनतालाई अक्षुण्ण राख्दै नागरिकको सार्वभौम अधिकारको रक्षाका लागि नेपाल प्रहरीले निष्ठापूर्ण योगदान गरेको बताए ।

राष्ट्रसेवामा नेपाल प्रहरीका पदचापहरूले बाटो नबिराउने र कहीँ कतै नसुस्ताउनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।

गृह प्रशासनको पुरानो र लामो अनुभवी संस्था नेपाल प्रहरी रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले यस सङ्गठनको भूमिका र कार्यशैलीले नेपालको आन्तरिक सुरक्षा मजबुत बनाएको बताए।

मुलुकमा आइपरेका जुनसुकै विषम परिस्थिति एवं विपत्तिमा उद्धार तथा व्यवस्थापन तथा हालै गएको बाढी पहिरोबाट प्रभावितको खोज तथा उद्धार र राहत व्यवस्थापनमा नेपाल प्रहरी सदैव अग्रभागमा खटिएको गृहमन्त्री लेखकले उल्लेख गरे।

मुलुकका सामु विभिन्न चुनौतीरहेको गृहमन्त्री लेखकले बताए। अन्तर्राष्ट्रिय आतंकवाद, साइबर अपराध, प्राकृतिक प्रकोपको जोखिम, सीमापार र बहुक्षेत्रीय अपराधको सञ्जालको नियन्त्रण र अनुसन्धान, मुद्रा निर्मलीकरण र प्रविधिको दुरुपयोग गरी गरिने आर्थिक अपराध जस्ता विविध सुरक्षाका चुनौतीको उचित सम्बोधन गर्नुपर्ने अवस्था रहको उनको भनाइ थियो ।

गृहमन्त्री लेखकले प्राकृतिक घटनाक्रमको सम्बोधन र व्यवस्थापन गर्नुपर्ने टड्कारो आवश्यकता रहेको उल्लेख गर्दै आत्महत्या न्यूनीकरण, सडक दुर्घटना तथा लागूऔषध दुर्व्यसनमा कमी ल्याउन तत्काल विभिन्न प्रभावकारी नीति तथा कार्यक्रमको आवश्यकता रहेको बताए। यी सबै समस्या सम्बोधन गर्न नेपाल प्रहरीले सञ्चालनमा ल्याउने हरेक रचनात्मक कार्यक्रमलाई आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न गृह मन्त्रालय सदैव सकारात्मक रहेको उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *