इजरायलले गाजा जाने सहायता रोके सैन्य सहयोग कटौती गर्ने अमेरिकी चेतावनी

बीबीसी । संयुक्त राज्य अमेरिकाले ३० दिनभित्र गाजामा मानवीय सहायता थप सहज नगरे इजरायललाई दिइँदै आएको सैन्य सहयोग कटौती गर्ने लिखित चेतावनी दिएको छ ।

उक्त पत्रलाई अमेरिकाले आफ्नो साझेदार राष्ट्रलाई दिएको सबै कडा लिखित चेतावनी मानिएको छ । इजरायली सैन्य कारबाहीमा परी उत्तर गाजामा धेरै सर्वसाधारणको मृत्यु भएको विवरण आएपछि आइतवार वाशिङ्टनले त्यस्तो पत्र पठाएको सार्वजनिक भएको हो ।

उक्त क्षेत्रका मानिसहरूको अवस्था खराब बन्दै गएकोमा गहिरो चिन्ता व्यक्त गर्दै अमेरिकाले गत महिना उत्तरी र दक्षिणी गाजामा मानवीय सहायताका लागि गरिएको झन्डै ९० प्रतिशत गतिविधिमा इजरायली पक्षबाट अवरोध भएको जनाएको छ । इजरायलले अमेरिकाले पठाएको पत्रको समीक्षा गरिरहेको बताएको छ ।

इजरायलले यसअघि हमासका कार्यकर्तालाई लक्ष्य गरिएको र मानवीय सहायताका सामानलाई नरोकेको दाबी गर्दै आएको थियो । सोमबार गाजा प्रवेशको व्यवस्थापन गर्दै आएको इजरायली सेना निकाय ‘कोगट’ले विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) का ३० वटा लरीहरू इरेज नाकाबाट उत्तरी गाजामा प्रवेश गरेको जनाएको छ ।

सहायता सामग्रीको आपूर्तिमा ३० दिनभित्रै तत्कालै चरणबद्ध ठोस कदम चाल्न र त्यसो नभएको अवस्थामा अमेरिकी नीतिमा नकारात्मक प्रभाव पर्ने अमेरिकाले औँल्याएको छ। पत्रमा अमेरिकी सहायता सामग्रीमा अवरोध पुर्याउने देशलाई अमेरिकी कानुनले सैन्य सहयोग गर्न रोक लगाएकोबारे जानकारी गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *