काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाखमा प्रतिनिधिसभाको निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गरेका छन् । आइतबार आफू निकट विद्यार्थी संगठनको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानन्त्री ओलीले निर्वाचन हुँदैन भन्ने हल्लाका पछि नलाग्न आग्रह गरेका हुन् ।
उनले बैशाखको निर्वाचन कसैले टार्न नसक्ने बताए । उनले भने, ’वैशाखमा प्रतिनिधिसभाको निर्वाचन हुन्छ। कतिपयले भ्रम फैलाउन खोजिरहेका छन् चुनाव हुँदैन भनेर, तपाईंहरु भ्रमको पछि नलाग्नुहोस् ।’
प्रधानमन्त्री ओलीले संविधान र कानूनले विघटित संसद पुनःस्थापना गर्न नमिल्ने भन्दै विघटित संसद नबौरिने बताए । देशलाई अलमलमा बस्न नदिन निर्वाचन आवश्यक रहेको उनको भनाई छ ।
पार्टीभित्र सरकारलाई काम गर्न नदिने, बदनाम गराउने, आन्दोलन ध्वस्त पार्न, राष्ट्रियता कमजोर पार्न, नक्सा छापेकोमा तथा संविधान संशोधन भएकोमा बाहानामा गुटबन्दी गरेकोले संगठन गतिशील नभएको उनले आरोप लगाए ।
उनले पार्टी भित्रै बसेर आन्दोलनको बदनाम गरेको र सरकारको कामको बदनाम गराउनमात्रै समय वर्वाद गरेकाले संसद भंग गर्नुपरेको बताए । प्रधानमन्त्री ओलीले आजै सर्वोच्च अदालतमा संसद विघटन गर्नुपरेको कारणको जवाफ पठाएको समेत बताए ।
प्रधानमन्त्रीले पार्टीको चुनाव चिन्ह सूर्य आफुहरुले नै पाउने दाबी गरे । उनले नेपालको विदेश नीति सन्तुलित हुने र भौगोलिक अखण्डातको रक्षा गर्दै राष्ट्रिय हितलाई सुरक्षित गर्न अघि बढ्ने पनि बताए ।
