अमेरिकी संसद्को माथिल्लो सदन सिनेटका सांसदहरूको एउटा समूहले निर्वाचनमा धाँधली भएको भनिएका मतका विषयमा अनुसन्धान गर्न आयोग नबनाउँदासम्म जो बाइडनको जितलाई प्रमाणित नगर्ने बताएका छन् ।
सिनेटका सांसद र सांसद निर्वाचित ११ जनाको उक्त समूहको नेतृत्व टेड क्रुजले गरेका छन् । र उनीहरूले अपुष्ट ती आरोपबारे छलफल गर्न १० दिन पर्खनुपर्ने माग राखेका छन् । यसअघि नतिजा उल्टाउने प्रयास स्वरूप रिपब्लिकन सांसद् लुई गोमर्टले उपराष्ट्रपतिका अधिकार बढाउन दायर गरेको मुद्दालाई टेक्ससका न्यायाधीशले अस्वीकार गरिदिएका थिए ।
गोमर्टले जनवरी ६ मा कङ्ग्रेसले इलेक्ट्रोरल मतलाई प्रमाणित गर्ने समयमा केही मतलाई अस्वीकार गर्ने अधिकार उपराष्ट्रपति माइक पेन्सलाई दिनुपर्ने माग गरिएको थियो । जनवरी ६ मा हुने एउटा मतदानमा अधिकांश सांसद्हरूले बाइडनको जित स्वीकार्ने गरी मतदान गर्ने अपेक्षा गरिएको बेला त्यस्तो कदम सफल हुने ठानिएको छैन ।
तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सका केही सांसद्हरूले समेत चुनावी नतिजाको विरोध गर्ने तयारी गरिरहेका छन् । राष्ट्रपति ट्रम्पले हार स्वीकारेका छैनन् र उनले बारम्बार कुनै प्रमाण नदेखाइकनै धाँधली भएको आरोप लगाएका छन् । चुनावी नतिजा उल्टाउने ट्रम्पको कानुनी प्रयासलाई धेरैतिर अदालतले अस्वीकार गरिदिएको छ ।
त्यसमध्ये ट्रम्पको उल्लेख्य जित भनेको पेन्सिल्भेनिया राज्यमा हुलाकबाट आएका थोरै मतका विषयमा मात्र भएको छ । जहाँ बाइडनले सन् २०२० मा भएको चुनाव जितेका छन् । राष्ट्रपतीय चुनावको नतिजालाई स्वीकृत गर्ने अमेरिकी इलेक्ट्रोरल कलेजले गत महिना बाइडनले ३०६ का विरुद्ध २३२ मतले जितेको नतिजा दिएको थियो । विभिन्न राज्यहरूमा हुने जितसँगै उनीहरूसँग हुने इलेक्ट्रोरल मतका आधारमा त्यस्तो मतदान हुने गर्छ।
जुन मतलाई अमेरिकी संसद् कङ्ग्रेसले जनवरी ६ मा प्रमाणित गर्नुपर्छ । जनवरी २० मा डेमोक्रेटिक पार्टीका तर्फबाट चुनाव जितेका नयाँ राष्ट्रपति र उपराष्ट्रपतिले पदभार सम्हाल्छन् । दुवै सदनमा बहुमत मतले मात्र इलेक्ट्रोरल मतलाई अस्वीकार गर्न सक्छ।