लेबननमा पेजरपछि वाकीटकी विस्फोट, कम्तीमा २० जनाको मृत्यु

बीबीसी । लेबननमा ताररहित सञ्चार उपकरणहरू विस्फोटनको दोस्रो लहरमा परेर कम्तीमा २० जनाको मृत्यु भएको छ भने ४५० जनाभन्दा धेरै घाइते भएका छन् ।

राजधानी बेइरुतको दक्षिणी भेगमा पर्ने क्षेत्रमा पर्ने उपनगरहरू बेका उपत्यका र दक्षिण लेबननमा सशस्त्र समूह हिज्बुल्लाहले प्रयोग गरेका वाकीटकीहरू पड्किएका थिए। ती हिज्बुल्लाहको बलियो पकड भएका क्षेत्रहरू हुन्।

स्वास्थ्य मन्त्रालयका अनुसार केही विस्फोटनहरू मङ्गलबारका पेजर विस्फोटनमा ज्यान गुमाउनेहरूको अन्तिम संस्कार भइरहँदा भएको थियो।

हिज्बुल्लाहले इजरेललाई उक्त हमलाको आरोप लगाएको छ। इजरेलले त्यसमा कुनै प्रतिक्रिया जनाएको छैन।

ती हमला इजरेली रक्षामन्त्री योआभ गालान्टले “युद्धमा नयाँ चरण“को घोषणा गरिरहँदा र इजरेली सेनाको डिभिजन उत्तरी क्षेत्रमा पुनःतैनाथी भइरहँदा भएका हुन्।

यसअघि मङ्गलबार हिज्बुल्लाहका सदस्यहरूले एक आपससँग सञ्चार गर्न प्रयोग गर्ने ’हाते पेजरहरू’ विस्फोटन हुँदा दुई बालबालिकासहित १२ जनाको मृत्यु भएको थियो ।

अमेरिकाले इजरायल र हिज्बुल्लाहबीच अवस्था थप चर्कन नदिनका लागि आफूले व्यापक कूटनीतिक प्रयास गरिरहेको जनाएको छ।

लगातार दोस्रो दिन सञ्चार उपकरणमार्फत् भएका हमलापछि बोलेका अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहका जोन किर्बीले थप सैन्य कारबाहीबाट यस सङ्कट सुल्झनेमा ह्वाइटहाउस विश्वस्त नरहेको जनाएका छन्।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसलेले अवस्था “नाटकीय रूपमा चर्कने गम्भीर जोखिम”मा रहेको बताउँदै सबै पक्षलाई ‘अधिकतम संयम अपनाउन’ आह्वान गरेका छन्।

दोस्रो चरणका विस्फोटनयता एक १६ वर्षीय बालकसहित आफ्ना १३ जना लडाकुहरू मारिएको हिज्बुल्लाहको सञ्चार कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *