आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउने यस्तो छ एमालेको कार्ययोजना

काठमाडौँ । नेकपा एमालेले आगामी २०८४ मा हुने आम निर्वाचनमा पार्टीलाई पहिलो बनाउने उद्देश्यसहित एक वर्षे कार्ययोजना बनाएको छ ।

हालै सम्पन्न सचिवालयले अन्तिम रूप दिएर पार्टी कमिटीमा पठाएको एमालेले कार्ययोजना कार्यान्वयन गर्न सबै तहका पार्टी कमिटीलाई सर्कुलर गरेको छ ।

जसमा पार्टी सदस्यता नवीकरण, विस्तार तथा अभिलेखीकरणदेखि नियमित अधिवेशन र व्यवस्थापन तथा पार्टी कमिटी र कार्यकर्ताको कामको मूल्याङ्कनसहित अन्तर्विरोधको व्यवस्थापन समेटिएको छ । त्यस्तै पार्टी जीवनको शुद्धीकरण, आर्थिक सामाजिक रूपान्तरण र जनचासोको सम्बोधनलाई पनि एमालेले कार्ययोजनामा समेटेको छ ।

यस्तै, पार्टी कार्यालयको व्यवस्थापन र सञ्चालन, व्यवस्थित प्रचार कार्य र प्रचार सञ्जालको विस्तार, कामका नयाँ क्षेत्रहरूको खोजी र जिम्मेवारी नपाएका कार्यकर्ताको परिचालन, बजेट निर्माण र स्रोत परिचालन, पार्टी जीवनको शुद्धीकरण, आर्थिक–सामाजिक रूपान्तरण र जनचासोका विषय सम्बोधन, बलियोर निर्णायक राष्ट्रिय शक्तिको निर्माण, केन्द्रीय कार्यालय भवन निर्माणलगायको १८ बुँदे योजना अघि सारेको छ ।

त्यस्तै, प्रत्येक गाउँपालिकाले ५०, नगरपालिकाले १००, उपमहानगरपालिकाले १५० र महानगरपालिकाले २५० युवा पहिचान गर्दै नेतृत्व विकासको प्रशिक्षण प्रदान गर्दै पार्टी काममा जोडेर उनीहरूलाई वैचारिक राजनीतिक प्रशिक्षणका अलावा नेतृत्व विकास र उद्यमशीलताका विषयमा समेत प्रशिक्षित गर्ने एमालेको कार्ययोजना छ ।

कार्ययोजनामा नयाँ पुस्तालाई पार्टीमा आकर्षित गर्नका लागि उमेर समूह अनुसारमा मुद्दाहरू तय गर्ने र नयाँ पुस्तामा पुर्याउने, जनसंगठनसँगको समन्वयमा नयाँ पुस्तामा सदस्यता विस्तारको योजना कार्यान्वयन गर्ने, युवाहरूमा उद्यमशीलताको विकास, उत्पादन कार्यमा सहभागिता र उत्पादकत्व वृद्धिका लागि सोहीअनुरूपमा परामर्श कार्यक्रम (काउन्सिलिङ), प्रशिक्षण र तालिम, स्टार्ट अप सम्बन्धी जानकारी र सहजीकरण तथा उत्पादनको बजारीकरणका लागि आवश्यक समन्वय गर्ने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *