देशमा देखिएका समस्या समाधान गर्न दुई प्रतिष्पर्धी पार्टी एकठाउँमा आयौँ : पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले देश विकासका लागि देखिएका समस्या समाधान गर्न दुई प्रतिष्पर्धी पार्टी एकठाउँमा उभिनुपरेको बताए ।

मंगलबार आयोजित नेपाल पर्वतारोहण सङ्घको ३४औँ वार्षिकोत्सव समारोहमा उनले देशमा देखिएका समस्या समाधान र चुनौतीको सामना गर्न नेपाली का‌ंग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) एकठाउँमा उभिन तयार भएको बताए ।

अहिले द्वन्द्व र एकअर्काको खुट्टा तान्ने समय नभएको उल्लेख गर्दै मन्त्री पाण्डेले सबै मिलेर देशलाई बनाउने बेला भएको धारणा राखे

आउँदो संसद् अधिवेशनमा पर्यटन र नागरिक उड्डयनसँग सम्बन्धित ऐन बन्ने र यसले पर्यटन क्षेत्र थप चलायमान हुने मन्त्री पाण्डेले आशा व्यक्त गरे । उनले संस्कृति, पर्यटन र उड्डयन नीतिमा आवश्यक परिमार्जन र नेपाल वायुसेवा निगमलाई सक्षम बनाउँदै हवाई क्षेत्र सुरक्षित राख्ने विषयमा आफ्नो ध्यान रहेको बताए ।

कार्यक्रममा पूर्वपर्यटनमन्त्री भीम आचार्यले दश वर्षमा एक करोड पर्यटक भित्र्याउने लक्ष्यसहित पर्यटन पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए । उनले ठूला विमानस्थल सञ्चालन र नेपाल वायुसेवा निगमलाई सक्षम बनाउन ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

पूर्वपर्यटनमन्त्री बलबहादुर केसीले पर्यटन नीति स्पष्ट र समयसापेक्ष हुनुपर्नेमा जोड दिए । पर्यटन क्षेत्रलाई उद्योगको रूपमा विकास गर्न जरुरी रहेकाले त्यसतर्फ केन्द्रित हुन पर्यटन व्यवसायीलाई उनले आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *