यसवर्ष १७ औँ दसैँगीत ‘रित्तो भकारी…’ल्याउँदै लोकगायक विष्णु खत्री

गण्डकी । दसैँ गीतका पर्याय बनेका लोकगायक विष्णु खत्रीले आफ्नो सत्रौँ दसैँ गीत ल्याउने तयारी गरेका छन्। नजिकिँदै गरेको बडादसैँको अवसर पारेर उनको नयाँ गीत ‘रित्तो भकारी…’ सार्वजनिक हुन लागेको हो। विसं २०६४ यता खत्रीले सालिन्दा दसैँगीत ल्याउँदै आएका छन्। उनको पहिलो दसैँगीत ‘सुनको जलप…’ हो। उक्त गीत तत्कालीन समयमा चर्चित बनेको थियो।

पछिल्लो समय खत्रीले गीत सार्वजनिक गरेपछि दसैँको माहोल आउने श्रोता–दर्शकको प्रतिक्रिया छ। ‘विष्णु खत्रीको गीत आएपछि बल्ल दसैँ आउँछ’ भन्ने प्रतिक्रिया आउने गरेको उनले बताए।

‘यसपालिको गीतले देशको वर्तमान अवस्था र नेपालीको मनोदशालाई चित्रित गर्ने प्रयास गरेको छ’, खत्रीले भने, ‘गीतको चलदृश्य छायाङ्कनको काम भइरहेको छ, चाँडै मेरो युट्युब च्यानलबाट सार्वजनिक गर्ने तयारी छ।’

सत्र वर्षको अन्तरालमा पनि खत्रीका हरेक दसैँगीतका विष्य, अन्तर्य र भावभूमि करिब उस्तै छन्। उनका प्रायः गीतमा प्रवासिएका नेपाली र तिनका स्वजनका दुःख, बेदना समेटिएका पाइन्छन्। मार्मिक सिर्जना र ग्रामीण परिवेशको झझल्को खत्रीका दसैँगीतका विशेषता हुन् । समाजका गम्भीर मुद्दामा सरल र बोधगम्य प्रस्तुति दिन खत्री पारङ्गत छन्।

‘हरेक सिर्जनामा नेपाली जनजीवन र सामाजिक यथार्थको चित्रण गर्ने इमान्दार प्रयास मबाट हुन्छ’, खत्रीले भने, ‘दसैँगीतले मलाई भिन्नै चिनारी दिएको छ, कतिपय स्रोताले त विष्णु खत्रीको गीत आएपछि बल्ल दसैँ आउँछ भनेर रमाइलो ढङ्गले प्रेरित पनि गछन्।’

दुई दशकदेखि लोकसङ्गीतमा सक्रिय खत्रीका बडादसैँ, तिहार, तीजजस्ता पर्वका अवसरमा मौलिक गीत सार्वजनिक हुँदै आएका छन्। अघिपछि पनि उनी समाजका विविध मुद्दालाई गीतमार्फत उठान गरिरहेका हुन्छन्। गत वर्षको बडादसैँमा खत्रीले ‘दसैँ–तिहार गाउँमा…’ ल्याएका थिए।

त्यसअघि उनका ‘दसैँ–तिहार सँगै मनाउँला’, ‘रिनै रिनको’, ‘दसैँमा आउ प्यारा’, ‘जहाजको टिकट’, ‘कति रुनी हो’लगायत गीत सार्वजनिक भएका थिए। पहिलो दसैँगीत ‘सुनको जलप…’ मा खत्रीलाई गायिका विमाकुमारी दुराले साथ दिएकी छन्।

पछिल्ला गीतमा उनेले विभिन्न गायिकासँग सहकार्य गर्दै आएका छन्। प्रायः सबै गीतमा शब्द र सङ्गीत गायक खत्रीकै हुन्छ। खत्रीका दसैँगीतबाहेक ‘भरिया दाइ’, ‘कि लास चाहियो कि लास चाहियो’, ‘जम्मु काश्मिरमा’लगायत दर्जनौँ लोक तथा दोहोरी गीत चर्चित छन्। बागलुङको गलकोट नगरपालिका–७ मल्ममा जन्मिएका उनी सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालको उपाध्यक्षसमेत हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *