काठमाडौ । लकडाउन खुकुलो भएसँगै पशुपति क्षेत्र विकास कोषले पशुपति मन्दिर खोल्ने तयारी गरेको छ। चैत ११ गतेदेखि कोरोना भाइरसको त्रासको कारण लकडाउन हुँदा तीन महिनादेखी पशुपति मन्दिर बन्द रहेको छ । विकास कोषले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर पशुपति मन्दिर दर्शन गर्न दिने तयारी गरिरहेको हो।
मन्दिर परिसरमा स्यानिटाइजरको प्रयोग गर्न दिने, दर्शनार्थीले अनिवार्य मास्क लगाउनुपर्ने, दुई मिटरको दूरी कायम गरी दर्शनार्थीलाई लाइनमा खडा गराउने गरी मापदण्ड बनिरहेको विकास कोषले जनाएको छ ।
महामारीको बेला पनि दर्शनार्थीको लागि कसरी दर्शन गराउन सकिन्छ त्यसको लागि विकास कोषले तयारी गरिरहेको र मन्दिर दर्शन गर्नको लागि ज्येष्ठ नागरिक बढी आउने भएकोले उनीहरुको स्वास्थ्य सुरक्षामा बढी संवेदनशील हुने विकास कोषले जनाएको छ ।