काठमाडौं । नेपाल प्रहरीले प्रयोग गर्ने उलन पाइन्टको कपडा २० हजार मिटर खरिद गर्ने सम्झौताबमोजिम टेक्सटाइल्स इन्डस्ट्रिज प्रालि बहुअरी वीरगन्जले नक्कली सामान भिडाउन जालसाजी गरेको पाइएपछि त्यसका सञ्चालकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी कारबाही अगाडि बढाएको छ ।
आर्थिक बर्ष २०७३÷०७४ मा नेपाल प्रहरीले २० हजार मिटर उलनको पाइन्टको कपडा खरिदका लागि बोलपत्र आह्वान गरेकोमा सो कम्पनीले उक्त कपडा आपूर्ति गर्न २ करोड १६ लाख ४० हजारमा उपलब्ध गराउने सम्झौता गरेको थियो ।
नेपाल प्रहरीको प्रबन्ध निर्देशनालयले उक्त कम्पनीसँग प्रतिमिटर १ हजार ८२ रुपियाँमा उक्त कपडा लिने सम्झौता गरेको थियो । सम्झौतामा उल्लेख भएबमोजिमको कपडा आपुर्ति नभएको आशंकामा कपडा आपुर्तिकर्ताका प्रतिनिधि नरेन्द्रनाथ पौडेलको रोहवरमा प्रहरीले गत साउन ३० गते सो कम्पनीले आपुर्ति गरेको कपडा भारतको चेन्नाईमा रहेको एसजीएसमा पठाएको थियो ।
सो कम्पनीले आपुर्ति गरेको कपडा संझौताबमोजिम नभएपछि आपुर्तिकर्ता कम्पनीका प्रतिनिधि पौडेलले गत साउन ३२ गते नेपाल प्रहरीको नाम, जिम्मेवार अधिकृतको मोवाईल नम्वर राखेर प्रहरीले दुई दिन अघि परीक्षण गर्न पठाएको एसजीएस ल्यावमा आफुखासी दोस्रो नमुना पठाएर प्रहरी संगठनलाई बदनाम गराउन खोजेको भन्दै सीआईवीले कम्पनीका मालिक पिताम्वरकुमार मुन्का र आधिकारीक प्रतिनिधि पौडेललाई पक्राउ गरी कारवाही अगाडि बढाएको ब्युरोले जनाएको छ ।
उनीहरुले चेन्नाईमा रहेको ल्यावलाई समेत प्रभावित पार्न खोजेको ब्युरोले जनाएको छ । सुरक्षा निकायभित्र लत्ताकपडा आपुर्ति गर्ने अधिकांश ठेकेदारले संझौता एउटा गर्ने र सामान कमसलखालको उपलब्ध गराउने यो पुरानो प्रचलन नै रहेको छ ।
प्रहरीलाई नक्कली कपडा भिडाउने पक्राउ
