काठमाडौ । संयुक्त अधिराज्यमा नयाँ प्रकारको भाइरसको प्रकोप फैलिइरहेका बेला नेपाल आएका यात्रुलाई अनिवार्य रुपमा होटल क्वारेन्टाइनमा बस्न सरकारले निर्देशन दिएको छ । सो नयाँ भाइरस नियन्त्रण तथा रोकथामका लागि नेपालले विदेशबाट आउने सबैलाई १० दिन होटल बसी कोरोना परीक्षण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना नै जारी गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार सूचना जारी गर्दै पुस १ देखि ७ गतेसम्म संयुक्त अधिराज्यबाट नेपाल आएका र सोही बाटो हुँदै नेपाल आएका सम्पूर्ण यात्रुलाई १० दिन क्वारेन्टाइनमा बस्न अनिवार्य भएको बताए । संयुक्त अधिराज्यमा फैलिएको नयाँ रोग नेपालमा नफैलियोस् भन्ने हेतुले संक्रमण फैलिएको मुलुकबाट फर्कने सबैलाई ७ देखि १० दिनभित्र पीसीआर परीक्षणका लागि निःशुल्क व्यवस्था मिलाइएको पनि सूचनामा उल्लेख गरिएको छ ।
डा.गौतमले सरकारी प्रयोगशालामा गएर निःशुल्क परीक्षण गर्न सकिने समेत उल्लेख गरेका छन । एक वर्षदेखि फैलिएको कोरोना भाइरसले विश्वलाई नै त्रास सृजना गरिरहेका बेला पुनः नयाँ भाइरसले यति बेला विश्वलाई सोच्न बाध्य बनाएको छ । नेपालले पनि कोरोनाबाट पाठ सिकेकै कारण यो जुनसुकै बेला जहाँसुकै फैलन सक्ने माध्यम भनेको विदेशको यात्रा भएको पहिचान गरी बुधबारदेखि उच्च सतर्कता अपनाउनका संयुक्त अधिराज्यबाट र सोही स्थान हुँदैआउने सबै उडान बन्द गरेको छ ।
इटालीमा पनि कोरोना भाइरसको नयाँ स्ट्रेन फेला परेको छ । इटालीका स्वास्थ्यमन्त्रीले बेलायतमा नयाँ स्ट्रेनको बिरामी भेटिएको र यो हालै बेलायतमा फेला परेको भाइरस रहेको जानकारी दिए । उनका अनुसार, नयाँ कोरोना भाइरस देखिएका बिरामी केही दिनअघि मात्रै बेलायतबाट इटाली आएका थिए । धेरै युरोपियन देश तथा कुवेतलगायतका देशहरुले बेलायतबाट हुने उडानमा रोक लगाएका छन् ।
बेलायतमा नयाँ स्ट्रेनको कोरोना भाइरस देखिएपछि टर्कीले बेलायत, नेदरल्यान्ड, डेनमार्क र दक्षिण अफ्रिकाबाट हुने उडानमा रोक लगाएको छ । इरानले पनि २ हप्ताका लागि बेलायतबाट हुने उडान बन्द गरेको छ । फ्रान्सले पनि ४८ घण्टाका लागि बेलायतबाट हुने उडान रद्द गरेको छ । साथै, जर्मनी, बेल्जियम,अस्ट्रियाले पनि बेलायतबाट हुने यात्रामा रोक लगाएका छन् ।
‘नयाँ कोरोना भाइरस अनियन्त्रित छ’ –बेलायती स्वास्थ्य सचिव माट हन्ककले बताएका छन । विश्वभर ७ करोड ६० लाख मानिस कोरोना संक्रमित भइसकेका छन भने १७ लाख संक्रमितको मृत्यु भएको छ ।
