स्पेनको बेनिडर्ममा नेपाली पाठशाला शुरु

कमल पराजुली, स्पेन । स्पेनको आलिकान्तेस्थित कोष्टाबलाङकामा बस्ने नेपाली समुदायले आफ्ना बालबालिकालाई नेपाल र नेपाली भाषा तथा संस्कृतिबारे परिचित बनाउन नेपाली पाठशाला शुरु गरेका छन् । आलिाकान्तेको बेनिर्डममा बुधबारबाट शुरु भएको नेपाली पाठशालामा यस वरिपरि बस्ने नेपाली समुदायका बालबालिकालाई सातामा एक दिन भेला गरी सामान्य नेपाली भाषाको पठनपाठन तथा अन्य नेपाली सांस्कृतिक गतिबिधी गराउन लागिएको हो ।

कोष्टाबलाङका निवासी नेपालीहरुको संस्था नेपाल स्पेन समाज कोष्टाबलाङकाको आयोजनामा शुरु भएको नेपाली पाठशालामा नीतु शाक्यले बालबालिकाहरुलाई सहजीकरण गर्नेछिन् । पाठशालाको पहिलो दिन बुधबार यस क्षेत्रका २ दर्जनभन्दा बढी बालबालिकाको सहभागिता रहेको थियो । समाजको तर्फबाट पाठशाला सञ्चालनको लागि संयोजन गरिरहेकी समाजकी उपाध्यक्ष झरना कार्कीले पाठशालाको प्रचारप्रसार अझै बढाएर यस क्षेत्रमा बस्ने सबै नेपालीका छोराछोरीलाई समेट्न आफुहरु लागी रहेको बताइन् ।

समाजका सल्लाहाकार रितेश श्रेष्ठले आफुहरुले यसअघि पनि पाठशाला सञ्चालन गर्न सुरुवात गरेको भए पनि विभिन्न कारणले निरन्तरता दिन नसकिएको भन्दै अहिले पुनः सुरुवात भएकोमा खुसी व्यक्त गरे । उनले यस क्षेत्रमा बस्ने नेपालीको संख्या बढ्दै गएको र लामो समयदेखि नेपालबाहिर रहेका बालबालिकालाई नेपाली भाषा र संस्कृति तथा नेपाली संस्कार सिकाउन समस्या परिरहेको अबस्थामा शुरु भएको पाठशालाले धेरै राम्रो भुमिका खेल्ने बताए । यसक्षेत्रका पुराना बासिन्दा तथा समाजका सल्लाहकार विरेन्द्र श्रेष्ठले यस क्षेत्रमा बस्ने सबै नेपालीलाई एकजुट बनाउन र आफ्ता बालबालिकालाई नेपाली संस्कृति बिर्सन नदिन पाठशालाले सहयोग गर्ने उल्लेख गरे ।

समाजका अर्का सल्लाहाकार सुरेन्द्र भुजेलले आफुहरु पठशालामा कसरी सबैलाई समेट्ने र यसलाई कसरी दिगो बनाउने भन्नेबारे लागिरहेको बताए । समाजका अध्यक्ष केशबराज कंडेलले पाठशाला सञ्चालनको लागि आफुहरुले सबैको सहयोग लिने बताए । अहिले सबैले स्वयंसेवकको रुपमा काम गरेको भन्दै उनले पाठशालामा सहजिकरण गर्ने व्यक्तिलाई पारिश्रमिक र बालबालिकाको खाजा खर्चको लागि पनि सहयोग संकलन गरी समाजले नै ब्यवस्थापन गर्ने जानकारी दिए ।

स्पेनको आलिकान्तेस्थित कोष्टाबलाङका क्षेत्रमा धेरै नेपालीहरुले आफ्नै ब्यवसाय गरेर बसेका छन् । आफ्नै ब्यवसाय गर्ने र अन्य रोजगार गर्नेहरु गरी एक हजारभन्दा धेरै नेपाली यहाँ रहेको अनुमान छ । यस क्षेत्रमा नेपालीको संख्या बढ्दै गएकोले आपसमा घुलमिलको बाताबरण बनाउन समाजको तर्फबाट विभिन्न नयाँ कामहरुको योजना ल्याइएको अध्यक्ष कंडेलले बताए । युवाहरुका बीचमा खेलकुदको कार्यक्रम र सांस्कृतिक पर्वहरुमा विशेष कार्यक्रम गर्ने आफुहरुको योजना रहेको उनले जानकारी दिए । समाजले धार्मिक गतिविधिका लागि यस क्षेत्रमा मन्दिर निर्माणको योजना अघि सारेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *