माधव नेपाललाई नेकपाको अध्यक्ष बनाउने प्रचण्ड-नेपाल पक्षको निर्णय

काठमाडौँ । सत्तारुढ नेकपाको पुष्पकमल दाहाल प्रचण्ड माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपाललाई पार्टीको अध्यक्ष बनाएको छ । बैठकमा वरिष्ठ नेता झलनाथ खनालले स्थायी कमिटीको निर्णयअनुसार नेता नेपालको नाम अध्यक्षका रुपमा प्रस्ताव गरेका थिए ।

आजै बसेको समूहको स्थायी कमिटीको बैठकले नेपाललाई केपी ओलीको स्थानमा अध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो । केन्द्रीय कमिटीको बैठकले केपी ओलीलाई कारबाही गरी अध्यक्षबाट हटाउने निर्णय गरेलगत्तै नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव पारित गरेको हो ।

बैठकमा केन्द्रीय सदस्य प्रभु साहले दुईजना अध्यक्ष बनाउने प्रस्तावको विरोध गरेका थिए । उनले पार्टीमा दुई अध्यक्ष हुँदा नाटकजस्तो भएको भन्दै एउटै अध्यक्षको नेतृत्वमा जनतामा आशाको संचार गर्नुपर्ने बताएका थिए । पुष्पकमल दाहाल र माधव नेपालले आलोपालोमा पार्टी चलाउने सहमति भएको यो पक्षका नेताहरुले बताएका छन् । बैठकले पार्टीका नेता कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने प्रस्ताव पनि पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *