बिराटनगर । विराटनगर महानगरपालिका–१४ मा आगलागी हुँदा बालकको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
ईलाका प्रहरी कार्यालय रानी, विराटनगरका प्रहरी निरीक्षक दीपक थापाका अनुसार महानगरपालिका–१४ झटियायीमा शुक्रबार मध्य रातमा स्थानीय राजेश दासको घरमा अचानक आगलागी हुंदा उक्त घटना भएको हो ।
कच्ची घरमा आगलागी हुँदा दासका १४ वर्षीय छोरा रविन दासको जलेर मृत्यु भएको हो। घर नजिक बालिएको घुरबाट आगलागी भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
आगलागीबाट राजेशकी ३२ वर्षीया श्रीमती इन्दुमति दास र सात वर्षीय छोरा किसन दास घाइते भएका छन् । उनीहरुको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ ।
आगलागीबाट करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
