प्रज्जवल थापा । अस्ट्रेलिया विरुद्ध भईरहेको पहिलो टेस्टको दोस्रो इनिङ्समा भारतले लज्जास्पद ब्याटिङ प्रदर्शन गरेको छ । एलिडेट ओभलमा भईरहेको पहिलो टेस्ट अन्तर्गत तेस्रो दिनमा भारत २१.२ ओभरमा ३६-९ रनमा अल आउट भएको हो। यससँगै अस्ट्रेलियालाई जितको लागि ९० रनको आवश्यक रहेको छ ।
तेस्रो दिन ९-१ को स्थितिमा खेलको शुरुवात गरेको भारतको ब्याटिङ निकै कमजोर देखिएको हो । दोस्रो इनिङ्समा भारतको लागि कुनैपनि ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । मयङ्क अग्रवालले ४० बलमा सार्वधिक ९ रन जोडे । यस्तै हनुमा विहारीले ८ रन जोड्दा कप्तान विराट कोईली, पृथ्वी शह, वृद्विमान साह, उमेश यादवले समान ४/४ रन जोडे । पुजरा, रहाणे र अश्विनले खाता खोल्नपनि सकेनन् ।
अस्ट्रेलियाको लागि हज्लेवुडले ५ ओभर बलिङ गर्दै ३ मेडन राखेर ८ रन खर्चिदै ५ विकेट लिए । कमिङ्सले १०.२ ओभरमा ४ मेडन राख्दै २१ रन खर्चेर ४ विकेट लिए । पहिलो इनिङ्समा भारतले २४४ जोडेको थियो भने अस्ट्रेलियाले १९१ रन जोडेको थियो ।
