काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई दोस्रो विश्वकप खेल्न १० वर्ष लाग्यो । पहिलोपटक सन् २०१४ मा भएको टी-२० विश्वकप खेलेको नेपाल त्यसपछि तीन संस्करण गुमाउँदै हाल अमेरिका र वेस्ट इन्डिजमा जारी नवौं संस्करणमा सहभागिता जनाउँदैछ ।
नेपाल गत सेप्टेम्बर/अक्टोबरमा नेपाल घरेलु मैदानमा भएको एसियाली छनोटको उपविजेता बन्दै विश्वकपमा पुगेको थियो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपाललाई सुपर ओभरमा हराउँदै ओमान विजेता बनेको थियो ।
१० वर्ष अगाडिको विश्वकप र यस विश्वकपमा भिन्नता भने धेरैनै छ । १६ राष्ट्रबीच हुँदै आएको प्रतियोगिता यसपटक २० राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । सन् २०१४ को विश्वकप खेलेको टोलीबाट सोमपाल कामीमात्र हालपनि टोलीमा रहेका छन् भने बाँकी धेरै खेलाडी युवा र नयाँसँगै अनुभवीपनि छन् । त्यतिबेला पारस खड्काको कप्तानीमा विश्वकप खेलेको नेपाल यसपटक युवा खेलाडी रोहित पौडेलको नेतृत्वमा खेल्दैछ । २१ वर्षीय रोहित जारी विश्वकपको सबैभन्दा कान्छा कप्तानपनि हुन् ।
टोली अनुभवी र युवा खेलाडीको मिश्रित छ । कप्तान पौडेल आफै युवा भएपनि उनीमा अनुभवको कमि छैन । ओपनर कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, गुलसन झा र दीपेन्द्र सिंह एरी लामो समयदेखि टोलीमा छन् । यता करण केसी टोलीको सबैभन्दा जेठा खेलाडी हुन् । उनको उमेर ३२ वर्ष रहेको छ । तरपनि उनी नेपालको लागि मुख्य खेलाडी रहँदै आएका छन् ।
नेपाली टोली यसपटक सम्पूर्ण तयारी सहित अमेरिका पुगेको छ । नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजको ‘ए’ टोलीदेखि विभिन्न स्थानीय टोलीसँग अभ्यास खेल खेलेको थियो । त्यसैले नेपाली टोलीले यस विश्वकपमा राम्रो प्रदर्शन गर्नेमा सबै विश्वस्त छन् ।
नेपाली टोलीलाई गुमाउनु भने केहि छैन । पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपाललाई विश्वसमू प्रमाणित गर्ने सुनौलो अवसर रहेको छ । नेपालको सुपर आठमा पुग्ने लक्ष्य रहेको छ । जसको लागि टोलीका मुख्य खेलाडी चल्नु आवश्यक रहेको छ ।
नेपालको एकदिवसीय मान्यता जोगाउन र विश्वकपमा पुर्याउन मुख्य योगदान गरेका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख पछिल्लो समय लय समात्न संघर्ष गरिरहेका छन् । कुशल र आसिफले सुखद शुरुवात दिलाएको खण्डमा रोहित, कुशल, गुलसन र दीपेन्द्रले टोलीलाई राम्रो स्कोरमा पुर्याउन सक्नेछन् । यस्तै टोलीमा अनिल शाह वाइलकार्ड बन्न सक्छन् । पछिल्लो समय टोलीमा रहेका अनिलले तेस्रो नम्बरमा राम्रो मध्यम प्रदर्शन गर्दै आएका छन् ।
यस्तै बलिंगतर्फ डेथ ओभर स्पेसलिस्ट अविनाश बोहोरालाई सोमपाल र करणले साथ दिनेछन् । सन्दीप लामिछानेको अनुपस्थितिमा ललित नारायण राजवंशी र सागर ढकालको जोडीले स्पिन डिपार्टमेन्ट समाल्नेछ । यस्तै स्पिनमा परेको खण्डमा कुशल मल्ल, कुशल भुर्तेल, रोहित पौडेल र दीपेन्द्र सिंह एरीले टोलीलाई ब्रेकथ्रु दिन सक्नेछन् ।
समूह ‘डी’मा रहेको नेपालले भोलि(मंगलबार) नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको शुरुवात गर्दैछ । यस्तै १२ जुनमा श्रीलंका, १५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा बंगलादेशसँग खेल्नेछ । यस समूहलाई ग्रुप अफ डेथको रुपमा हेरिएको छ ।
यस्तै समूह ‘ए’मा आयोजक अमेरिकासँगै क्यानडा, भारत आयरल्याण्ड र पाकिस्तान रहेका छन् । समूह ‘बी’मा नामिबिया, ओमान, अष्ट्रेलिया, इंग्ल्याण्ड र स्कटल्याण्ड छन् भने समूह ‘सी’मा वेस्ट इन्डिज, पपुवा न्युगिनी, अफगानिस्तान, न्युजिल्याण्ड र युगान्डा रहेका छन् । चार समूहको शीर्ष दुई स्थानमा रहने टोली सुपर आठमा पुग्नेछन् । सपुर आठमा आठ टोलीलाई चार-चार टोलीको दुई समूहमा विभाजन गरिनेछ । दुई समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलको विजेता टोली २९ जुनमा उपाधिको लागि भिड्नेछन् ।
