नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग : पुस १० देखि सुरुङ खन्ने तयारी

काठमाडौँ । नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग निर्माण कार्यले गति लिन थालेको छ । सुरुङ मार्ग खन्न आवश्यक तयारी अन्तिम चरणमा पुगेकाले यही पुस १० देखि सुरुङ मार्ग खन्ने गरी तयारी भइरहेको सुरुङ मार्ग आयोजनाले जनाएको छ । मङ्सिर पहिलो हप्तादेखि नै सुरुङ खनिने लक्ष्य रहे पनि कोभिड–१९, जग्गाको मुआब्जा विवादलगायतका कारण सुरुङ खन्न ढिलाई भएको आयोजनाले जनाएको छ ।

सुरुङ मार्गको मुखमा राखिने स्टिलको फ्रेम राख्ने काम भइरहेकाले अब छिट्टै सुरुङ खन्न सुरु गरिने आयोजनाले जनाएको छ । कार्यस्थलमा २० जना जापानी प्राविधिकसहित दुई सयभन्दा बढी जनशक्ति काममा खटिइरहेको यो आयोजनाको गत वर्ष कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

काठमाडौँको थानकोट दहचोकदेखि–सिस्नेखोलासम्म सुरुङको लम्बाइ २.५ किलोमिटर, चौडाइ ९.५ मिटर तथा उचाइ १८ मिटर हुनेछ । यो सडकले नागढुङ्गाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट बचत गर्नुका साथै सडकको लम्बाइ आठ किमी कम हुनेछ । सुरुङ मार्ग निर्माणपछि थानकोटबाट १० मिनेटमा नौबिसे पुग्न सकिने छ । यो आयोजना सम्पन्न गर्न कुल २२ अर्ब रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।

आयोजनाका बारेमा जानकारी लिन सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, उपमहानिर्देशक अर्जुनजङ्ग थापा, जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, धादिङका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलसहितको टोलीले यसै साता आयोजना स्थल पुगेर निरीक्षण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *