काठमाडौं । २०७९ को संसदीय निर्वाचनमा ओली, देउवा र प्रचण्डविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीले ‘नो नट अगेन’ अभियान चलायो । पार्टी गठन भएको ६ महिनामै भएको निर्वाचनमा अन्य दलले आँकलन गरे भन्दाबढी सिटमा रास्वपा विजयी भयो । आफूविरुद्ध ‘नो नट अगेन’ अभियान चलाएको भन्दै एमाले अध्यक्ष ओली रास्वपाप्रति रुष्ट थिए । निर्वाचन परिणाम आएलगत्तै आयोजित एक कार्यक्रममा ओलीले रवि लामिछाने नेतृत्वको रास्वापको नाममानै आलोचना गरेका थिए । अमेरिकामा रहेको फ्रिड्म पार्टी र त्यसको चुनाव चिन्ह घण्टीकै झलक दिनेगरी लामिछानेले आफ्नो पार्टीको नाम राखेको भन्दै ओलीले आलोचना गरेका थिए । त्यसक्रममा उनले संयोगनै भएपनि यसले मुलुकको संस्कृति र पहिचानलाई मेटाउन बल पुग्ने भन्दै चिन्ता समेत व्यक्त गरेका थिए ।
रास्वापले चलाएको ‘नो नट अगेन’ र ओलीको आलोचनाले उनीहरु मिलेर जान्छन् भन्ने कमैले सोचेका थिए । तर एमालेको अगुवाइमा रास्वापा, राप्रपालगायतका दलको गठबन्धन गरी प्रचण्डलाई प्रधानमन्त्री बनाउन ओली तयार भएर प्रधानमन्त्री पनि बनाए । तर सरकार गठन भएको केही समयमै नागरिकता प्रकरणका कारण रास्वपा सभापति रवि लामछिानेले सांसद पद गुमाएपछि रास्वपा सरकारबाट बाहिरियो भने एमाले पनि प्रचण्डले कांग्रेससँग गठबन्धन गर्न थालेपछि सरकारबाट बाहिरियो । तर सरकारबाट बाहिरिएको एकवर्ष पछि अर्थात् गत फागुनमा फेरि एमालेले माओवादीलाई कांग्रेसबाट छुटाएर आफ्नो गठबन्धनमा ल्यायो र त्यो गठबन्धनमा रास्वपा पनि जोडियो । सरकारमा एमालेले अरुलाई रोजीछाडी मन्त्रालय दियो र अरुले छाडेका मन्त्रालय आफूले लियो । रवि लामिछानेको जसरी पहिलो पटक सरकारमा जाँदा चर्चा भएको थियो, यसटक थिएन । किनकी सहकारी ठगी प्रकरणमा उनी मुछिएका थिए ।
तर रास्वपाबाट शिक्षामन्त्री बनेकी सुमना श्रेष्ठको भने यसपटक बढी नै चर्चा थियो र भइरहेको पनि छ । नेपालको शिक्षा बिग्रिएको राजनीतिका कारण भन्ने बुझेकी मन्त्री श्रेष्ठले राजनीतिक दलमा आवद्ध भएका शिक्षकलाई आवद्धता छाड्न र नछाड्नेको विवरण पठाउन परिपत्र गरिन् । शिक्षक सरुवालाई व्यवस्थापन गर्न शिक्षक सरुवा निर्देशिका लागू गरिन् । शिक्षकहरुका लागि यो निर्णय नमिठो त थियो होला तर शिक्षाको सुधारका लागि भने राम्रो निर्णय थियो । उनले विश्वविद्यालयको कुलपतिबाट प्रधानमन्त्री हटाउने र पदाधिकारी नियुक्तिमा भागवण्डा गर्ने प्रचलनको अन्त्य गर्ने अभियान चलाइरहेकी छन् । उनको कामलाई देखेर नागरिक समाजका अगुवादेखि राजनीतिक दलका धेरै नेताहरुले उनको कामको प्रसंसा गरेका छन् । तर गतसाता विद्यालय व्यवस्थापन समिति महासंघका प्रतिनिधिसँगको भेटमा सत्तारुढ नेकपा एमालेका अध्यक्ष ओलीले सुमनाविरुद्ध लिङ्गद्वेषी अभिव्यक्ति दिएका छन् । ओलीले भने, ‘विदेशीसँग बिहे गरेको सुन्छु कता हो, नेपाल घुम्न आएकी मन्त्री पो भइन् ।’
ओली त्यतिमा मात्र रोकिएनन् । शनिबार युवा संघको कार्यक्रममा खुलै रुपमा सुमनाप्रति लक्षित गरी कथा नै सुनाए । ओलीले कथा यसरी सुनाए, ‘एक देशमा एक चेली कता गएर पढिन्, कता बिहे भयो, अनि माइती देशमा एकपटक गइन् अरे, माइती देशमा असन्तुष्टि, अस्तव्यस्तता, युवाहरूमा अन्योलको स्थिति । को उठ्छ भन्दा म उठ्छु । कसलाई समानुपातिक चाहिएको छ भन्दा मलाई भनेर सांसद भइन् अरे । मन्त्री भइन् अरे । कहिले– कहिले हुन्छ त्यस्तो । अकासबाट पनि कहिलेकाहीँ पानीसँगै माछा खस्छ, सधैँ त्यस्तो हुँदैन ।’
रास्वपाप्रति कसैले आलोचना हुँदा अरिंगाल खनिएझै खनिने रास्वापाका नेता कार्यकर्ता ओलीको यो अभिव्यक्तिमा भने मौन बसेका छन् । पार्टी सभापति लामिछाने न बोलेका छन् न अरु नेता नै । एकजना केन्द्रीय सदस्य गणेश कार्की मात्र छन् जसले ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनले भनेका छन्, ‘यिनै लिङ्गद्वेषी ओलीसँग हल लागेर प्रचण्ड बोक्न पुगेका हामी र हाम्रा साथीले यत्तिको अपमान, व्यङ्ग्य पचाउन बानी पार्नु पर्ने हो सायद । तर यिनीहरुलाई भन्न चैं पर्छ, देश पुरुषको मात्र हैन । देश पुरुषको घर र महिलाको माइत हुन्न । विदेश जाने बाध्यता र फर्किने चाहना सबैका लागि बराबर छ ।’
पूर्वराजदूत विजयकान्त कर्णको टिप्पणी छ, ‘यो महिला मुक्तिको लागि आदरणीय जेबी टुहुरेको प्रिय गीत गाउने दलको नेताको अभिव्यक्ति ‘आमा दिदी बहिनी हो कति बस्छौ दासी भइ, सुखको सधैं प्यासी भएर ।’ यो निकृष्ट टिप्पणी आफ्नै दल सहितको सरकारको एक महिला मन्त्रीप्रति कसरी गर्न सकेका ।’
सहकारी ठगी प्रकरणमा रविलाई जोगाउन ओली लागेको आरोप लागेको छ । संसदीय समिति गठन हुन नदिने ओलीले लिएको अडानबाट पनि त्यो कुरा स्पष्ट हुन्छ । तर ओलीका पछिल्ला अभिव्यक्ति भने रास्वपालाई चिढ्याउने खालका सुनिन थालेका छन् । केही दिनअघि ओलीले कांग्रेस जस्तो पार्टी रवि लामिछानेको विरुद्धमा खनिनु भनेको भँगेरा मार्न तोप बोकेर जानु सरह भएको टिप्पणी गरेका थिए । उनको भनाई थियो, ‘कांग्रेस जस्तो पार्टी रवि लामिछानेका विरुद्ध खनिएको छ । के खनिनु। भँगेरा मार्न जाने तोप बोकेर। बल्लबल्ल राजनीतिमा आएको, एकवर्ष भयो ।’ ओलीको अभिव्यक्तिबाट रास्वपासँगको सहकार्यको औचित्य सकिएको जस्तो देखिन्छ ।
राजनीतिक विश्लेषक डम्बर खतिवडा यस मामिलामा रास्वपा मौन बस्नु रविले सहकारीबाट जोगिनलाई भएको टिप्पणी गर्छन् । उनी लेख्छन्, ‘पुराना पार्टीका नेताले हेपे, ओल्चे, ‘भङ्गेरा’, ‘घुम्न आएका मन्त्री’ भने भनेर चित्त नदुखाए हुन्छ । जालमा पसिसकेको माछाको छटपटाहट मछुवारेलाई रमाइलो नै लाग्ने हो । ‘स्वत्व’ गुमाएपछि कसले किन महत्व दिन्छ ? ‘नयाँ’को औचित्य तिनैलाई काँध थाप्न थिएन–सित्तैको ‘हली’ पाए कसले जोत्दैन–हेप्दैन ।’
एकजना सामाजिक संजाल प्रयोगकर्ता निरन्जन खनाल लेख्छन्, ‘रवि र रास्वपा यस्तो चक्रव्यूहमा फसिसके कि ! सरकार छाडे जेलमा कोचिने डर । बसिरहे बा ले जति उछितो काटिरहे पनि सहन पर्ने बाध्यता । रवि र यिनका नेताहरुमा न इख न इमान ? ! इख र इमान लिलाममा राखेर एकथान मन्त्री मात्र हुनु नै जिन्दगीको उपलब्धि हो र ?’
