शारदाप्रसाद त्रिताल ।
अन्ततः लामो संसदीय लफडापछि सहकारी क्षेत्रमा देखिएको समस्या छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको छ । समितिलाई कार्यसफलताको शुभकामना । आशा गरौं संसदीय समितिले छानबिन गरेर पहिलो पटक सत्यतथ्य बाहिर ल्याउन सकोस् । यस अघिका संसदीय समितिहरु समस्याको विषयान्तर गर्न गठन हुन्थे । यो समिति त्यस्तो नहोस् ।तर चुनौती भने धेरै छन् ।
सहकारीको जुन स्तरमा समस्या बाहिर आएकोछ त्यसको छानबिन गर्न संसदीय समिति भन्दा न्यायिक जाँचबुझ आयोगको आवश्यकता थियो । किनकी यो विषय निष्पक्ष छानबिन गर्नुपर्ने विषय हो । सांसदहरु सम्बन्धित दलका नेताका अनुचर मात्र भएकाले नेताबाट जे निर्देशन आउँछ त्यही गर्ने गरी प्रतिवेदन आउने खतरा छ । संसदीय समितिमा बहुमतको आधारमा निर्णय हुने हुँदा त्यसले निष्कर्ष निकाल्न कठिन हुन्छ ।
राजनीतिक व्यक्तिहरुका बीच लेनदेन र माथा पच्चिसी मात्र हुने गरेको अहिलेसम्मको इतिहास छ ।
गत पटक अर्थको सीसीटिभी काण्डको छानबिनको उदाहरण काफी छ । सहकारी सम्बन्धी समस्यामा नेकपा एमालेसँग सम्बन्धित धेरै नेताहरु जोडिने निश्चित छ । एमालेकै सांसदको संयोजकत्वमा गठित समितिले निष्पक्ष छानबिन गर्न सक्छ भन्ने सम्बन्धमा पनि शंका गर्ने प्रशस्त ठाउँ छ । टिओआरको क्षेत्र र समयावधि बीच एकरुपता छैन । तीन महिनामा यत्रो ठूलो समस्याको छानबिन सम्भव हुँदैन । तर समय थप भने हुन सक्ला । आशा गरौं यी चुनौतीलाई छिचोलेर माननीयहरुबाट जनताको लागि ठोस् काम हुन सकोस् ।
