यही हो रास्वपाको सुशासनको मानक ?

गेजा शर्मा वाग्ले ।
कांग्रेस, एमालेलगायतका ‘पुराना’ पार्टीहरु ‘भ्रष्ट भए, सुशासनको प्रत्याभूति गर्न सकेनन्,असफल भए’ भन्ने आरोपका साथ भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न स्थापना भएको भनिएको रास्वपा र प्रतिगामी, भ्रष्ट भनी आरोप लगाइएको राप्रपाबीच फरक हेरौं । सहकारीको रकम कानुनविपरीत निजी कम्पनीमा लगेर सहकारी ठगी गरेको रास्वपाका सभापति रवि लामिछानेमाथि जुन आरोप लागेको छ, राप्रपाका सांसद गीता बस्नेतमाथि पनि त्यही आरोप लागेको छ । आफ्नै सांसद बस्नेतले गरेको ठगी छानबिन गर्न ‘भ्रष्ट, प्रतिगामी, अनैतिक’ भनिएको राप्रपाले सरकारसँग माग गरेको छ । तर भ्रष्टाचार नियन्त्रण, सुशासनको ‘मसिहा’ दाबी गर्दै स्थापना भएको, ख्यातिप्राप्त अन्तर्राष्ट्रिय विश्वविद्यालय पढेर सुशासन, पारदर्शिताको वकालत गर्ने, अन्य पार्टीका नेतामाथि आरोप लाग्दा सबैभन्दा चर्को स्वरमा नारा लगाउने पार्टीले यति संगीन आरोप लाग्दा एक शब्दसमेत नबोली ढाकछोप गरेको छ ।

उल्टै, अनुचित सौदाबाजी गरी रास्वपा सरकारमा गयो, जुन निकायले सभापतिको ठगीबारे अनुसन्धान गरिरहेको थियो,उनी त्यही मन्त्रालयको मन्त्री भए, मन्त्री भएपछि सत्ता र शक्तिको दुरुपयोग गरी उनीमाथि भइरहेको अनुसन्धान बन्द गरिदिए र महान्यायाधिवक्ताबाट ‘निर्दोष’ भएको चिठी लेखाउन समेत सफल भए । यो कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हो कि होइन ? यो राजनीतिक, कानुनी र नैतिक प्रश्न हो कि होइन ? गृहमन्त्रीले सत्ता र शक्तिको दुरुपयोग गरेको हो कि होइन ? के रास्वपाको सुशासनको मानक यही हो ? यी प्रश्न उठाउनेलाई साइबर सेना परिचालन गरी आक्रमण त गरिएला तर जनतालाई यी प्रश्नको उत्तर दिनु पर्दैन ?

के सत्ताको दलाली गर्न, हिजोसम्म रास्वपाले भ्रष्टाचार र कुशासनका नाइके भएको आरोप लगाएका प्रचण्ड–ओलीलाई पटकपटक सत्तामा पुर्याउन,भ्रष्टाचार र कुशासनको संरक्षण गर्न, सहकारी ठगी प्रकरणको ढाकछोप गर्न तथा भण्डाफोर गर्ने सञ्चारगृहमाथि प्रतिशोध लिन १२ लाख जनताले रास्वपालाई मत दिएका हुन् ? हिजो राप्रपाका सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, कमल थापाहरूले भन्दा पनि अहिले रास्वपाले सत्ताको दलाली बढी गरेको देखिन्छ । के रास्वपाको नैतिक हैसियत राप्रपाको भन्दा पनि तल गिरेको हो ? रास्वपाका सदस्य, समर्थक, शुभेच्छुक, मतदातालाई यो भन्दा ठूलो दुर्भाग्य अरु के होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *