राप्रपाद्वारा सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । पार्टीको केन्दीय सचिवालय कार्य व्यवस्था समितिको बिहीबार बसेको बैठकले यही पुस १२ गतेदेखि पहिलो चरणको आन्दोलन गर्ने निर्णय गरेको हो ।

भ्रष्टाचार नियन्त्रण, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्या समाधानलगायतका विषयमा सरकार असफल भएको भन्दै राप्रपाले देशव्यापी प्रदर्शन गर्ने भएको छ । सनातन हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि पनि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको राप्रपाले जनाएको छ ।

सार्वजनिक गरिएका कार्यक्रममा पुस १२ गते ७७ वटै जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाइने छ। पुस १२ गतेदेखि २१ गतेसम्म जिल्ला सदरमुकाम तथा ठूला सहरमा मोटरसाइकल र्याली गर्ने र पुस १५ गतेदेखि २५ भित्र जिल्ला सदरमुकाममा जनप्रदर्शन गर्ने निर्णय गरेको राप्रपाले जनाएको छ ।

त्यस्तै बैठकले सक्रिय सदस्यता वितरण निर्देशिका, सांगठनिक तह निर्वाचन सम्बन्धी विनियमावली २०७७, निर्वाचन निर्देशिका तथा निर्वाचन कार्यतालिका संशोधनसहित पारित गरेको छ । पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठक पुस ६ र ७ गते काठमाडौंमा बोलाउने निर्णय पनि बैठकले गरेको छ । राप्रपाका अनुसार पुस चौथो हप्तादेखि भने दोस्रो चरणका कार्यक्रम सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *