केशवप्रसाद भट्टराई ।
काङ्ग्रेसमा र एमालेमा भ्रष्टहरू छैनन् भन्ने होइन, तुलनात्मकरूपमा रास्वपामा भन्दा काङ्ग्रेस र एमालेमा कयौँ गुणा बढी होलान् । तर फरक के छ भने काङ्ग्रेस भन्दा गिरिजा वा देउवा युगका यी वा ती काङ्ग्रेस नेता –कार्यकर्ताको नाउ मात्र अघि आउँदैन –त्यो भन्दा पहिला वीपी,सुवर्ण, सूर्य प्रसाद, गणेशमान, कृष्णप्रसादहरूको नाउँ आउँछ । एमाले भन्दा ओली, झलनाथ वा माकुनेको नाउ भन्दा पहिले पुष्पलाल, साहना, मनमोहन, मदन भण्डारीहरूको नाउँ आउँछ ।
काङ्ग्रेस र एमालेको नाउँसँगै मेचीदेखि महाकालीसम्मका त्याग, तपस्या, सङ्घर्ष र बलिदान गरेका स्वच्छ छविका हजारौँ –हजारका अनुहारहरू पनि मानिसका मानस पटलमा आउँछन् । तर राष्ट्रिय स्वतन्त्र पार्टी भन्दा–एउटै अनुहार अगाडि आउँछ –रवि लामिछाने । माओवादी भन्यो – प्रचण्ड बाहेक कोही छैनन् । ती पार्टीमा प्रचण्ड र रविको नाउ र अनुहार बाहेक केही देखिन्न । रास्वपा भन्यो –रवि ! माओवादी भन्यो – प्रचण्ड !
प्रचण्डको नाउँ आउँदा हत्या, हिंसा, लूटपाट, ध्वंशको त्यो युगको स्मृति पनि सँगै आउँछ, मुलुकमा सामाजिक तनाव, द्वन्द्व , विवाद र विभाजनपनि साथै आउँछ । रास्वपा भन्दा –रवि र रविको नाउँ आउने बित्तिकै नागरिकता, पासपोर्ट र अब आएर सहकारी विवाद । उनीहरूको पार्टीको इतिहास नै उनीहरूबाट आरम्भ हुन्छ । प्रचण्डजी देशको राजनीतिको दृष्यबाट बाहिर हुँदा माओवादी दल कतिञ्जेल अस्तित्वमा रहला ? उनीहरूको लेखाजोखा होला नै । रविको छवि भ्रष्ट र ध्वस्त हुँदा रास्वपा जीवित रहन्छ ? रविको पार्टीमा आशा र भरोसा लाग्दा दर्जनौ युवा नेतृत्व छन् तर रविबाट स्वतन्त्र तिनको छवि र व्यक्तित्व निर्माण भएकै छैन ।
राजनीतिक दृष्यमा नरहँदा अन्य दर्जनौ लाममा छन्– दुई , तीन , चार पुस्ता नेतृत्व लिन खडा छन् । माओवादीकै स्तरका झापा हत्याकाण्डका नाइकेहरू राजनीतिक दृष्यबाट हराएपछि त्यस्तो कुनै हत्या–हिंसाको भारी नबोकेका युवाहरू नेतृत्वमा आएपछि एमाले बढी उदार र प्रजातान्त्रिक पनि हुँदै जानेछ नै । देउवा, ओली वा माकुनेहरूको ठाउँमा जो आए पनि वर्तमानमा भन्दा राम्रोसँग, राम्रा उपलव्धि आर्जन गरेर ती पार्टी जीवित रहन्छन् । तर माओवादी र रास्वपा हकमा त्यस्तै हो ? रास्वपा र माओवादीले यही प्रश्नमा ध्यान दिए पुग्ला !
