काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश जारी गरेकी छन् ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मंगलबार मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहनेछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान परिषद्को बैठक डाकेपनि सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो । प्रधानमन्त्री ओलीले आजै साँझ ५ बजेका लागि परिषद्को बैठक राखेका छन् ।
विद्यमान संवैधानिक व्यवस्था अनुसार ६ जनाको परिषद्को बैठकको गणपुरक संख्याका लागि अध्यक्षसहित ४ जना सदस्य उपस्थित हुनैपर्ने प्रावधान छ। तर आज राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेशले सो प्रावधानमा संशोधन गरी बहुमतले निर्णय गर्न सकिने प्रावधान राखिएको छ ।



