उपत्यकामा रगतको चरम अभाव

 

काठमाडौं । नेपालमा रगत व्यवस्थापनको जिम्मा पाएको नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार केन्द्रले सामान्य अवस्थामा शनिबार मात्र चार सय युनिट रगत सङ्कलन गर्ने गर्दथ्यो ।
शनिबार प्रायः १०–१२ स्थानमा रक्तदान कार्यक्रम आयोजना हुन्थे । एउटै स्थानबाट ५० युनिटभन्दा धेरै रक्तदान गर्ने स्वयंसेवी हुन्थे । शनिबार काठमाडौंँ उपत्यकामा जम्मा दुई स्थानमा मात्र रक्तदान गरियो । एक स्थानबाट २५ युनिट र अर्कोबाट ३१ युनिट गरी जम्मा ५६ युनिट रगत सङ्कलन भयो । यसले नेपालमा यतिबेला रगतको चरम अभाव छ भनेर पछिल्लो पुष्टि हो ।
सोसाइटीको केन्द्रीय रक्तसञ्चार केन्द्रका निर्देशक डा. मनिता राजकर्णिकारले रगतको चरम अभाव भएको जानकारी दिईन। उनका अनुसार अभावबीच स्वयंसेवी रक्तदाताले गरेको रक्तदानले गर्दा बिरामीले रगत नपाएको अवस्था भने छैन । अहिले काठमाडौँका मुख्य–मुख्य अस्पतालले ब्लड बैङ्कको व्यवस्था गरेर आफ्ना अस्पतालका बिरामीलाई सहज रूपमा रगत उपलब्ध गराएका कारण रगतको अभाव पूर्ति गर्न सहज भएको छ ।
पछिल्लो समय निजी अस्पतालले पनि ब्लड बैङ्कको स्थापना गरेर रगत सङ्कलन गरिरहेका छन् । त्यसले रगत अभाव केही हदसम्म सहज बनाएको छ । डा. राजकर्णिकारले कोरोना महामारीकालमा हत्तपत्त कसैले रक्तदान गर्न नमान्ने गरेको बताईन ।
स्वेच्छाले रक्तदान गर्ने व्यक्ति पनि कोरोनाको डरले पछि हट्दा रगतको अभाव हुन गएको हो । उनले कोरोना सङ्क्रमण दर तीव्र गतिमा बढ्दै गएकाले रक्तदानमा समस्या भएको बताईन ।
यता रक्त सङ्कलनमा नेपाल स्वयंसेवी रक्तदाता समाजको भूमिका महत्वपूर्ण छ । बिरामी रेडक्रस तथा अस्पतालको रक्त केन्द्रमा जाने तर त्यहाँबाट रगत छैन भनेर स्वयंसेवी रक्तदाताकहाँ गुहार्ने गरेका छन् ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले शनिबार मात्रै १६ जना बिरामीलाई रगतको व्यवस्था गरिएको जानकारी दिए ।
उनले रात दिन नभनी स्वयंसेवी रक्तदाताले रगत अभाव हुन नदिन लागिपरेको बताए । रक्तदाताले स्वयंसेवी रूपमा रक्तदान गरिरहेका छन् तर सम्बन्धित निकायले चासो दिन सकेको छैन । नेपाल सरकार र नेपाल रेडक्रसले रगत अभाव हुन नदिन कुनै पहल नगरेको अध्यक्ष कर्माचार्यले भने– आज मात्र दुईवटा कार्यक्रम गरेर रगतको कार्यक्रममा भैरहवा जान लागेको छु ।
अहिले सम्बन्धित निकायले ध्यान नदिएर स्वयंसेवी रक्तदाताको मात्र पहलमा रगतको अभाव टरेको छ कर्माचार्यले भने अहिलेसम्म कुनै पनि बिरामीलाई रगत नभएर खाली हात पठाएको अवस्था छैन । स्ययंसेवी रक्तदाता समाजको देशैभर सञ्जाल रहेकाले सहज भएको उनको भनाइ छ । गोरखापत्रबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *