उखुको ९० करोड उठाउन किसान फेरि काठमाडौंमा

देशभरका उखु किसानले चिनी उद्योगहरूबाट लिनुपर्ने करिब ९० करोड उठाउन निर्णायक आन्दोलनको घोषणा गरेका छन् । आइतबारदेखि थाल्ने आन्दोलनका लागि देशभरबाट एक हजार उखु किसान काठमाडौं आउँदै छन् । पहिलो चरणमा माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने उनीहरूको योजना छ ।

‘उखु बेचेको पैसा माग्दामाग्दा हामी हैरान भयौँ, अब २८ गते बिहानदेखि हाम्रो वारपारको आन्दोलन सुरु हुन्छ,’ उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले भने, ‘अब हामीले पाउनुपर्ने सबै पैसा बोकेर मात्रै घर फर्किन्छौंँ, आन्दोलनमै मर्नुपरेछ भने पनि त्यसका लागि तयार भएर आउँदै छौँ ।’ शनिबार दिउँसोदेखि नै किसानहरू काठमाडौं पुग्ने क्रम सुरु हुने उनले बताए ।

यसअघि २३ कात्तिकमा रायसहितका १२–१३ जना उखु किसान न्याय माग्दै काठमाडौं आएका थिए । उनीहरूले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई भेटेर ज्ञापनपत्र बुझाउँदै बक्यौता भुक्तानी नभए छठलगत्तै आन्दोलन गर्ने जानकारी गराएका थिए । त्यतिवेला उनीहरूले २७ कात्तिकबाट आन्दोलन गर्ने बताएका थिए । तर, यसबीचमा मन्त्रालयले उद्योगी भेला गरेर बैठक बस्ने र किसानको भुक्तानी दिन पहल थालेकाले आन्दोलन एक महिना धकेलिएको रायको भनाइ छ ।

नगदे बालीका रूपमा परिचित उखुखेती गर्ने किसानलाई बर्सेनि चिनी मिल सञ्चालकले भुक्तानीका लागि झुलाउने गरेका छन् । किसानको बक्यौता रकम ९० करोड पुगिसकेको छ । तर, उद्योगीहरूले बक्यौता तिर्नुको सट्टा उद्योग बन्द गरेर दुःख दिन थालेकाले आन्दोलन गर्नुपरेको उनीहरूले बताए ।

सर्लाहीको गोडैता नगरपालिका सिसौटका किसान रामविलास महतोले यो वर्ष पैसा लिएरै गाउँ फर्कने गरी आन्दोलन गर्ने बताए । सरकार र उद्योगपतिले पटक–पटक धोका दिएका कारण अब सहमतिपत्रमा मात्र चित्त नबुझाउने उनले बताए । गत वर्ष जाडोमा माइतीघर मण्डलामा गरेको आन्दोलन सम्झँदै महतोले भने, ‘अब आश्वासन होइन, पैसा लिएर मात्र फर्कन्छौँ ।’ उखु किसान संघर्ष समिति, सर्लाहीका अध्यक्ष राम स्वगारथ रायले राज्यको लापरबाही र उद्योगपतिको हेपाहा प्रवृत्तिका कारण निमुखा किसानले दुःख पाएको बताए । किसानले वर्ष दिनको बाली माया मारेर राजधानी पुगेर आन्दोलन गर्नुपर्ने अवस्था नै विडम्बना भएको उनले बताए ।

६ मिलको ८९ करोड बक्यौता

देशभर सञ्चालित १३ चिनी मिलमध्ये ६ वटाले भुक्तानी नदिएर दुःख दिएको किसानहरूको गुनासो छ । सबैभन्दा बढी ३५ करोड रुपैयाँ बक्यौता रहेको रौतहटको श्रीराम सुगर मिल बन्द छ । सो मिलको चल–अचल सम्पत्ति बिक्री गरेर किसानलाई भुक्तानी दिने प्रक्रिया अघि बढाइएको छ । त्यस्तै, सर्लाहीको अन्नपूर्ण सुगर मिलले ३० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । उद्योग सो क्षेत्रमा ०७१ मा स्थापना भएको र सोही वर्षदेखिको बक्यौता बाँकी छ ।

सर्लाहीकै गोडैता नगरपालिकामा रहेको महालक्ष्मी सुगर मिलको ६ करोड बक्यौता छ । यो मिलले न्यूनतम समर्थन मूल्यभन्दा प्रतिक्विन्टल ३६ रुपैयाँ कम भुक्तानी दिएर किसानलाई ठगेको छ । सरकारी कार्यालयमा सबै रकम भुक्तानी दिएको दाबी मिल प्रशासनले गरेको छ ।

त्यस्तै, नवलपरासीको लुम्बिनी चिनी मिलले १० करोड भुक्तानी दिन बाँकी छ । सो मिल स्वर्गीय उद्योगी मनीष अग्रवालले सरकारबाट लिजमा लिएर सञ्चालन गरेका थिए । दुई वर्षअघि उनको निधन भएयता भुक्तानीमा समस्या देखिएको हो । अहिले मिल सुनीता गोयलले सञ्चालन गर्दै आए पनि भुक्तानी दिन आनाकानी गर्दै आएकी छिन् ।

नवलपरासीकै इन्दिरा सुगर मिलले ८ करोड र बागमती खाँडसरी मिलले ४० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको किसानहरूले बताएका छन् ।

सरकारले थाल्यो पहल

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानको बक्यौता दिलाउन पहल थालेको छ । मन्त्रालयले ८ मंसिरमा सबै उद्योगीलाई भेला गराई एक महिनाभित्र बक्यौता तिर्न निर्देशन दिएको सहायक प्रवक्ता उर्मिला केसीले जानकारी दिइन् । मन्त्रालयले बक्यौता भुक्तानीका लागि पत्राचार गर्दा सुरुका दिनमा कुनै उद्योगी छलफलका लागि तयार भएका थिएनन् । त्यसपछि प्रहरी परिचालन गरेर पक्राउ गर्ने चेतावनी दिएको थियो । लगत्तै उद्योग मन्त्रालयले गृहलाई पत्राचार गरी चिनी मिललाई पक्राउ गर्न आग्रहसमेत गरेको थियो । त्यसपछि भने उद्योगीहरू छलफलमा आएका थिए ।

‘गृह मन्त्रालयसँगको समन्वयपछि उद्योगीहरू छलफलमा आउनुभएको थियो । त्यो छलफलमा एक महिनाभित्र बक्यौता रकम तिरिसक्ने निर्णय भएको छ,’ केसीले भनिन्, ‘निर्णय कार्यान्वयनको अवस्था के छ भनेर हामी थप बुझ्नेछौँ ।’ उनले उखु किसानको बक्यौता भुक्तानी गर्न सरकार अघि बढिसकेको बताइन् ।

यद्यपि, उद्योग मन्त्रालयले संकलन गरेको तथ्यांकमा चारवटा मिलले ६६ करोड रुपैयाँ मात्र भुक्तानी दिन बाँकी रहेको उल्लेख छ । केसीका अनुसार श्रीराम सुगर मिलले ३६ करोड, लुम्बिनी चिनी मिलले ८ करोड, इन्दिरा सुगर मिलले ५ करोड र अन्नपूर्ण सुगर मिलले १७ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । ‘अन्य मिलको बक्यौता रहेको बारेमा हामीलाई जानकारी आएको छैन,’ उनले भनिन् ।

उनका अनुसार बन्द गर्ने निर्णय भएको रौतहटको श्रीराम सुगर मिललाई १५ बिघा जग्गा बिक्री गर्न वा सट्टापट्टा गरेर रकम जोहो गर्न निर्देशन दिइएको छ । त्यस्तै, लुम्बिनी चिनी मिलका मुख्य सञ्चालकको निधन भएकाले अर्की सञ्चालक सुनीता गोयलसँग छलफल अघि बढाएको उनले बताइन् । ‘लुम्बिनीको बक्यौता असुल गर्न अग्रवाल परिवार नै छलफलमा आइरहनुभएको छ । उहाँहरूले समस्या समाधान गर्ने बताउनुभएको छ,’ केसीले भनिन् । नयां पत्रिकाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *