काठमाडौं । सुन तस्करी जाँचबुझ गर्न गठित आयोगले प्रतिवेदन सरकारलाई हस्तान्तरण गरेपछि राज्यको पहिलो निशानामा पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुुर महरा परे । चैत्र ५ गते गृहजिल्ला रोल्पा जाने क्रममा महरा कपिलवस्तुबाट अप्रत्याशित रुपमा पक्राउ परे । तर पक्राउ परेको चार दिनपछि सरकारी वकिलसँग राय लिँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) ले हाजिरी जमानीमा रिहा गरेको छ । महरालाई छाड्नुको कारण थियो थप प्रमाण नभेटिनु । महरा विरामी रहेका, धेरै औषधि खाइरहेको र प्रमाण नष्ट नहुने भएकाले उनलाई रिहा गरिएको कारण देखाइएको छ । सुन तस्कर भनिएका चिनियाँ नागरिकसँग उनको टेलिफोन सम्पर्क बाहेक केही नभेटिएको प्रहरीले बताएको छ । यसअघि पनि सीआईबीले त्यही कारण उनीविरुद्ध मुद्दा चलाएको थिएन । सीआईबीले दोस्रो पटक पनि उनीविरुद्ध थप प्रमाण जुटाएर दोषी करार गर्न सकेन । दोस्रो पटक पनि उही नियतिमा सीआईबी रहयो ।
तर राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताले भने महरा पक्राउलाई आफ्नो पार्टीको सत्तारोहणको विजयका रुपमा व्याख्या गरेका छन् । पार्टी सभापति एवं गृहमन्त्री रवि लामिछाने र उपसभापति डा. स्वर्णिम वाग्लेले महरालाई तारो बनाउँदै प्रहार गरे । शनिबार पार्टीले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री लामिछानेले महरा बिरामी भएकाले हाजिरी जमानीमा छाडेको बताए । उनले महरालाई मानवीय संवेदना र करुणाका आधारमा हाजिरी जमानीमा छाडेको बताए । उनले भने, ‘८/१० वटा औषधि सेवन गरिरहनुभएको छ, अत्यन्त बिरामी हुनुहुन्छ, सम्मानित अदालतले पनि बिरामी हुनुभएको कुरा इंगित गरेको छ । राज्य निर्मम हुन सक्छ, कठोर हुन्छ, तर राज्यसँग करुणा भएन भने त्यो अन्याय हुन जान्छ । त्यसैले धेरै बिरामी अत्यन्त नाजुक स्वास्थ्य अवस्था भएको मान्छेलाई कसैको हाजिरी जमानीमा छाडेको कुरालाई अतिरञ्जित गर्नुपर्दैन ।’
त्यस्तै, रास्वपा उपसभापति वाग्लेले पनि महरा पक्राउलाई गृहमन्त्रीको ठूलो उपलब्धिकोरुपमा व्याख्या गरे । उनले भने, ‘फाइलहरु लुकाउने हामीहरुले सुनिरहेका थियौं। उहाँहरुले ती फाइलहरु टक्टक्याउन थाल्नुभएको छ। तपाईंहरुलाई थाहा छ कृष्णबहादुर महरा भनेको चानचुने मान्छे होइन, प्रधानमन्त्रीको अनन्य मित्रलाई पनि हामीले कानूनको घेरामा ल्याएका छौं। त्यो सानोतीनो कदम होइन ।’ त्यस्तै उनले नेपालका एकमात्रै डलर अर्बपति नेपालमा कसले छुन्छ र भन्ने दम्भका साथ हिँड्ने विनोद चौधरीलाई समेत बयानमा बोलाएको भन्दै यसलाई पनि ठूलो उपलब्धिको रुपमा व्याख्या गरे ।
गृहमन्त्री लामिछानेको कुराबाट यहाँ केही प्रश्न उब्जिएका छन् । गृहमन्त्रीसँग करुणा थियो भने त महरा स्तरको नेतालाई रोल्पा जादै गर्दा कपिलवस्तुमा किन छापामार शैलीमा पक्राउ गर्नु पर्दथ्यो त ? सुन तस्करी प्रकरणमा पहिलो पटक नै सिआइबीमा गएर बयान दिएका महरालाई फोन मात्रै गरेको भए पनि उनी आफैं हाजिर हुन सक्ने विकल्पहरु बिर्सेर बाघ मारे जस्तै उनको गिरफ्तारीको हौवा पिटाउने पनि गृहमन्त्री लामिछाने नै थिए । मूल कुरा महरा मन्त्रिपरिषद, गृह मन्त्रालय वा प्रचण्ड र रविहरुको करुणा, दया र कृपाले छुटेका होइनन् । अदालतको आदेशले छुटेका हुन् । अदालतमा गृहमन्त्री हैन, न्यायाधीशहरु बस्ने गर्छन् भन्ने त सबैलाई हेक्का छ । गृह मन्त्रीजीलाई यो कुराको हेक्का नभएर त्यस्तो बोलेको हो कि ? यदि राज्यको करुणा हुन्छ भने चार दिनका लागि महरालाई पक्राउ नै कि गरेको त ? महरा विरामी थिए, औषधि खान्थे भन्ने सबैलाई थाहै थियो । तर महरा छुटेपछि राज्यको करुणा हुन्छ भन्ने गृहमन्त्रीको भनाई नाजवाफ भएकाले करुणाको भाका हालेर फेससेभ गरेको त होइन ?
