जोसुकैले भ्रष्टाचार गरे पनि अक्षम्यः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारी जोकोहीलाई पनि कानुनी दायरामा ल्याइने बताएका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले उच्च राजनीतिक तथा प्रशासनिक पदमा रहेका पदाधिकारीविरुद्ध पनि मुद्दा चलेको भन्दै यसबाट भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता प्रमाणित हुने उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीले भनेका छन्, ‘भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याउनै पर्दछ । उच्च राजनीतिक तथा प्रशासनिक पदमा रहेका पदाधिकारीविरुद्ध पनि यस वर्ष मुद्दा चलेका छन् । भ्रष्टाचार विरुद्धको हाम्रो शून्य सहनशीलतालाई यसले प्रमाणित गर्दछ ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विगत दुई आर्थिक वर्षमा ७९२ भ्रष्टाचारका मुद्दा चलाएको र हाल पनि करिब ८ हजार उजुरी उपर अनुसन्धान भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपालमा विगत दुई वर्षमा सुशासन कायम गर्न राम्रा प्रयास र अभ्यासको थालनी गरिएको बताए । उनले भ्रष्टाचार गर्ने प्रवृत्ति धेरै हदसम्म ओरालो लागेको दाबी गरेका छन् ।

उनले भनेका छन्, ‘ठूलो वा सानो मात्राको वा ठूलो वा सानो पदको वा जोसुकैले भ्रष्टाचार गरे पनि त्यो अपराध नै हो र क्षम्य हुन सक्दैन । सरकार यसमा स्पष्ट छ ।’

भ्रष्टाचार हुनै नदिनु सरकारको प्राथमिकता हो भन्दै प्रधानमन्त्रीले यसका लागि सरकारी, निजी, गैरसरकारी, सामुदायिक तथा सञ्चार क्षेत्रलगायत सबैको सहयोग र सहकार्य आवश्यक पर्ने बताएका छन् । प्रधानमन्त्रीले भनेका छन्, ‘हाम्रा सामाजिक मूल्य, मान्यता, संस्कार र व्यवहारमा परिवर्तन गर्नु पनि त्यत्तिकै आवश्यक छ । सामाजिक सुशासनले व्यवसायिक एवम् राजनीतिक सुशासनका लागि दबाब सिर्जना गर्दछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *