अदानचुलीकी तत्कालीन उपप्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको अदानचुली गाउँपालिकाकी तत्कालीन उपप्रमुख सौमती रावल ऐडीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले बुधबार हुम्लाको आदनचुली–३ स्थित ढकनीकुनादेखि मुढेघट्टसम्म आर्थिक वर्ष २०७४/७५ मा बनाइएको सिँचाइ योजानामा अनियमितता गरेको आरोपमा उनीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले उपप्रमुख ऐडी, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डे, इन्जिनियर मकरध्वज शाही, सव–इन्जिनियर जयराम छन्त्याल, योजना शाखा कर्मचारी एवम् सरसफाइ प्राविधिक मंगल भण्डारी, तत्कालीन लेखापाल दीपक नेपाली र केही वडाध्यक्षविरुद्ध ४२ लाख २९ हजार ३५८ रुपैयाँ ८९ पैसा बिगो दाबीसहित मुद्दा दर्ता गराएको हो ।

उनीहरूले ढकनीकुनादेखि मुढेघट्टसम्म सिँचाइ निर्माण सम्झौतामा निर्धारित शर्त र मापदण्डविपरीत निर्माण कार्य गरी गराई, झुट्टा नापी किताब, उपभोक्ता समितिसम्बन्धी बिल, कार्य सम्पन्न प्रतिवेदनसमेत तयार गरी भएको कामभन्दा ४२ लाख २९ हजार ३५८ रुपैयाँ ८९ पैसा उपभोक्ता समितिलाई भुक्तानी गरेको अख्तियारको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *