उद्घाटनको हतारोले नेताहरु आलोचित

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रका सडकमा सवारी पार्किङमा रोक लगाएको छ । महानगरले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको हो । महानगरले सडकको विकल्पमा काठमाडौँ भ्यु टावर (साविकको पुरानो बसपार्क)मा निःशुल्क पार्किङ गर्न पाउने व्यवस्था मिलाएको थियो । तर पार्किङ निषेध गरिएको भन्दै न्यूरोडका व्यापारी आन्दोलनमा उत्रिए । पार्किङ गर्न नदिएपछि ग्राहक नआउने भन्दै व्यवसायीले विरोध गरे । त्यसपछि महानगरले धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा निःशुल्क पार्किङ सेवा उपलब्ध गराउने निर्णय गर्यो । त्यसपछि त्यहाँ पार्किङ गर्न सुरु गरिएको थियो । त्यहाँ दुई हजार २०० वटा २ पाङ्ग्रे र ३ सय वटा चार पाङ्ग्रे सवारी साधन पार्किङ क्षमता रहेको महानगरले बताएको छ ।

तर यो बीचमा काठमाडौं महानगरपालिकाले निर्माण सम्पन्न भई नसकेको धरहरामा सवारीसाधन पार्किङ खुलाएको भन्दै शहरी विकास मन्त्रालयले रोक्न पत्र पठायो । महानगरले माघ १४ गते धरहरा निर्माण भएको भवनको पहिलो तल्ला पार्किङका लागि खुल्ला गरेकोमा मन्त्रालय अन्तरगत केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) महानगरलाई पत्र लेखेर आपत्ति जनाएपछि मेयर बालेन साह आक्रोसित भएका छन् । मेयर साहले प्रश्न गरेका छन्, ‘उद्घाटन गरेको २ वर्ष ९ महिनापछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भन्नू भएको थियो ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।’ खासमा धरहराको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ वैशाख ११ गते उद्घाटन गरेका थिए ।

तर ठेकेदार कम्पनी जिआई इपिसी रमण कन्स्ट्रक्सनकाअनुसार पुनर्निर्माण सक्न अझै एकवर्ष लाग्नेछ । त्यतिवेला धरहरा स्तम्भ ठडिए पनि भित्री संरचना निर्माण र ब्युटिफिकेसनका थुपै्र काम बाँकी थिए । ती काम अझै पनि सकिएको छैन । सायद हतारोमा उद्घाटन नगरेको भए आज बालेनले यो प्रश्न गर्ने ठाउँ रहने थिएन ।
सरकारले भूमिगत पार्किङ नरोके परिणाम नराम्रो हुने चेतावनी दिएको छ । शहरी विकासमन्त्री सीता गुरुङले काठमाडौं महानगरपालिकाले निर्माणाधिन धरहराको भूमिगत पार्किङमा कसैसँग पनि समन्वय र छलफल बिना जबरजस्ती रुपमा पार्किङ गराउनु विधि विपरित रहेको बताएकी छन् । उनले भनेकी छन्, ‘समन्वय र छलफल नगरी एकलौटी रुपमा पार्किङ गर्न सान्दर्भिक हुँदैन । महानगरले पत्रलाई प्राथमिकता दिनुभएको छैन । यसरी नै जाने हो भने राम्रो परिणाम हुँदैन ।’
नेकपा एमालेका नेता महेश बस्नेतले पनि मेयर साहको अभिव्यक्ति प्रति आपत्ति जनाएका छन् । उनले भनेका छन्, ‘ओली सरकारले बनाएको धरहरालाई इतिहासमै मेटाउने उद्देश्यले सेतो घर भनेर उडाउँथे बालेनजी । आज त्यही धरहराको पार्किङ्ग प्रयोग गर्न बाध्य भएका छन् । बल मिचेर प्रक्रिया नपुगेको बारे सरकारले प्रश्न गर्दा, एमाले तिरै जवाफ तेर्साएछन् । धन्न एमाले छ र सबैको दोकान चलेको छ ।’

हतारोमा गरिने सिलान्यास र उद्घाटन यो मात्र होइन । मेलम्ची खानेपानी आयोजना पनि परेको छ । मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यक्रम अहिलेसम्म पाँच पटक उद्घाटन भइसकेको छ । पहिलो पटक २०७७ फागुनमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । त्यसपछि २०७७ चैत्रमा तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारी, २०७९ वैशाखमा तत्कालिन खानेपानीमन्त्री उमाकान्त चौधरी, फेरि २०७९ मंसिर तत्कालिन खानेपानीमन्त्री उमाकान्त चौधरी र यसवर्ष माघ १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए ।

कवि अर्जुन पराजुलीले यसरी टिप्पणी गरेका छन्ः
केही बनेकै छैन
उद्घाटन सम्पन्न भो !
भने सम्झनू
समृद्धि त्यही हो !!
यसरी आलोचित नहुन अब चाहिँ नेताहरुले  नाम लेखाउन उद्घाटनको होडबाजी गर्न छाड्ने कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *