बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्यामा बृद्धि

बर्दिया ।  बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । निकुञ्जमा रहेको बाघ, चितुवा, हात्ती, जरायो, बाह्रसिङ्गेलगायत वन्यजन्तु हेर्न पर्यटक यहाँ पुग्ने गरेको निकुञ्ज प्रशासनले जनाएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले बाघको सङ्ख्या बढेर एक सय २५ पुगेपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको जानकारी दिए । करिब ९० प्रतिशत पर्यटकले बाघ अवलोकन गरेको जानकारी दिँदै उनले अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्ममा दुई हजार विदेशी पर्यटक आएकामा अहिले यस आर्थिक वर्षको पुस मसान्तसम्ममा चार हजारको हाराहारीमा पुगेको बताए ।

यसैगरी, अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्ममा आन्तरिक छ हजार पर्यटकले  निकुञ्ज अवलोकन गरेकामा यस आर्थिक वर्षको पुस मसान्तसम्ममा १० हजार पुगेका छन्  ।

गत आवको पुस मसान्तसम्ममा पाँच सय सार्क मुलुकका पर्यटकले अवलोकन गरेकामा चालु आवको पुस मसान्तसम्ममा आठ सय पुगेका छन् । बाघ हेर्नकै लागि गत वर्षभन्दा यस वर्ष पर्यटकको सङ्ख्या बढेको प्रमुख संरक्षण अधिकृत रामले जानकारी दिए ।

पर्यापर्यटनका लागि यो निकुञ्ज केन्द्रका रुपमा स्थापित भएको उल्लेख गर्दै उनले भने, “यस वर्ष करिब २० हजार पर्यटकले निकुञ्ज भ्रमण गर्नेछन्, यसको मुख्य कारण बाघको सङ्ख्या बढेकाले त्यसलाई प्रत्यक्ष रुपमा देख्न पाउनु नै हो ।”

प्रमुख संरक्षण अधिकृत रामका अनुसार खास गरेर अमेरिका, जर्मन, फ्रान्स, न्युजिल्यान्ड, चीन, भारतलगायत मुलुकका पर्यटकले निकुञ्ज अवलोकन गरेकामा तीमध्ये अमेरिकी पर्यटकको सङ्ख्या बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *