कहिले सुध्रिने प्रहरी ?

काठमाडौं । गतसाउन २४ गते संखुवासभा कारागारमा कैद भुक्तान गरिरहेका संखुवासभा मादीका विनोद तोलांगी र नुवाकोटको ककनीका आकाश बलामीको हत्या भयो । कैदी हत्या प्रकरणमा ७ प्रहरीसहित १५ जना यतिबेला पुर्पक्षका लागि जेलमा छन् । यो घटनाले प्रहरी संगठनमाथि प्रश्न खडा भएको छ ।
गत असोजमा सर्लाहीमा मूर्ति बिसर्जनको क्रममा दुई पक्षबीच झडप भयो । स्थिति नियन्त्रणबाहिर जान लागेको भन्दै प्रहरीले कर्फ्यु लगाएको थियो । तर जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी नरेशराज सुवेदीलाई काज सरूवा गरी हेडक्वार्टर तानियो । त्यस्तै असोजमै बाँकेमा फेसबुक स्टाटसको निहुँमा सामाजिक सद्भावमाथि खलल पुग्ने गतिविधि भएको थियो। सुरक्षा चुनौती भएपछि त्यहाँ कर्फ्युसमेत लगाइएको थियो । तर जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोषसिंह राठौरको काज सरुवा गरियो । सर्लाही र बाँकेमा प्रहरी प्रमुखको भूमिकामा कमजोरी देखिएको थियो । थियो भने खै कारबाही ? काज सरुवा भो सकियो ।

गत असोज २१ गते निजी गाडीमा ठमेलबाट बालुवाटार जाने क्रममा कुमार रोका र नवराज नगरकोटीलाई गाडी रोकेर लुटियो । लुटपाटमा प्रहरी सहायक निरीक्षक सुनबहादुर तामाङ, प्रहरी सहायक हवल्दार खगराज अधिकारी र प्रहरी जवान भुवन बराल संलग्न थिए । उनीहरु अहिले जेलमा छन् ।

कात्तिक २३ गते जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका धनगढी उपमहानगरपालिका वडा नम्बर १६ का ३१ वर्षीय कृष्ण सेट्टिको रहस्यमय मृत्यु भयो । बयान लिने क्रममा उनी कुर्चीमै बेहोस भएर ढलेको र मृत्यु भएको प्रहरीले बतायो । तर प्रहरीको कुटपिटबाट उनको मृत्यु भएको भन्दै परिवारले छानबिनको माग गर्यो । तर परिवारको मागको सुनुवाइ नै भएन ।

पुस ६ गते धनुषाको हंशपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतभित्र रहेका एक थुनुवाको रहस्यमय मृत्यु भयो । हंशपुर नगरपालिका वडा नम्बर ५ सुगानिकासका दीपनारायण मण्डलको मृत्यु भएपछि परिवार, आफन्त तथा स्थानीय बासिन्दा आक्रोशित हुँदै प्रदर्शन भयो । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो । गोली लागेर एकजना प्रदर्शनकारी घाइते भए । इलाका प्रहरी कार्यालयका प्रमुख बालमुकुन्द ठाकुरलाई पैसा खुवाएर निर्घात कुट्न लगाउँदा दीपनरायणको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । मण्डलको मृत्यु त भयो तर कारबाही हुनुपर्यो नि हिरासतमा मृत्यु कसरी भयो त ?

यी त प्रतिनिधि घटना मात्र हुन् । जहाँ प्रहरीको शंकास्पद भूमिका छ । कुनै घटनामा संलग्न प्रहरी त जेलमा छन् । तर कतिपय घटनामा प्रहरीमाथि कुनै कारबाही भएको छैन । कतै काज सरुवा गरिएको छ । यी घटनाबाट प्रहरीले आगामी दिन यस्ता घटना नघटोस् भनेर विगतका कमजोरीबाट पाठ सिक्नु पथ्र्यो । तर प्रहरीले त्यसको वेवास्ता गरेको पाइएको छ । जसको उदाहरण शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनाबाट स्पष्ट हुन्छ ।

बालकुमारीमा रहेको ईपीएस शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा मन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी गरेपछि प्रहरीले गोली चलाउँदा अछाम चौरपाटी गाउँपालिका–१ का वीरेन्द्र शाह र दैलेख महाबु गाउँपालिका–६ का सुजन राउतको मृत्यु भएको छ । यस प्रकरणमा प्रहरीको भूमिकालाई लिएर सर्वत्र आलोचना भइरहेको छ । गोली चलाउनु नपर्ने अवस्थामा गोली चलाइएको भन्दै प्रहरीको आलोचना भएको हो । ललितपुरका प्रमुख जिल्ला अधिकारीले गोली चलाउने आदेश नदिएको बताउँदै आएका छन् भने गृहमन्त्री र प्रधानमन्त्रीले समेत गोली चलाउने आदेश नदिएको बताएका छन् । त्यसो भए प्रहरीले कसको आदेशमा गोली चलायो ?

सरकारले घटना छानबिन गर्न समिति गठन गरेको छ भने ललितपुरका प्रहरी नायब उपरीक्षक उमेश लम्साल र भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको सुरक्षामा खटिएका व्यक्तिगत सुरक्षा अधिकृत प्रहरी सहायक निरीक्षक बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय गरेको छ । त्यस्तै, इपिएस कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदीलाई निलम्बन गर्ने निर्णय गरेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमा र जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षकलाई नेपाल प्रहरी प्रधान कार्यालयमा फिर्ता गरिएको छ । तर यो निलम्बन, काज सरुवा विगतमा अरु घटनामा पनि नभएका होइनन् । तर कारबाही भने कमै घटनामा मात्र भएको पाइन्छ, त्यो पनि जनता आन्दोलनमा उत्रिए भने मात्रै । अहिलेको यो निलम्बन, हेडक्वार्टर फिर्ता पनि घटना सामसुम पार्ने प्रपञ्च भएको भन्दै पीडित पक्ष त्यो मान्न तयार छैन । यो घटनामा गोली चलाउन आदेश दिने को हो ? यसमा अरु को को दोषी छन् ? निर्मम तरिकाले अनुसन्धान गरी दोषीमाथि कारबाही हुनुपर्छ न कि विगतको जस्तो झारा टार्ने काम नहोस् । अनि आगामी दिनमा यस्ता घटना हुन नपाओस् । नारा चाहिँ ‘प्रहरी मेरो साथी’, काम चाहिँ….?

Leave a Reply

Your email address will not be published. Required fields are marked *