भारतलाई हराउँदै अष्ट्रेलिया छैटौंपटक विश्व च्याम्पियन

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप-२०२३ को उपाधि अष्ट्रेलियाले जितेको छ । आइतबार बेलुकी सम्पन्न फाइनल खेलमा घरेलु टोली भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलियाले छैटौंपटक विश्वकपको उपाधि जितेको हो ।

जितको लागि २ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४३ ओभरमा चार विकेटको क्षतिमा २ सय ४१ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । अष्ट्रेलियाको लागि ट्रेभिस हेडले सतक पूरा गरे । उनले १ सय २० बलमा १५ चौका र ४  छक्काको मद्दतमा १ सय ३७ रन बनाए । यस्तै मार्नुस लाबुसेनले ५८, मिट्चेल मार्सले १५, डेभिड वार्नरले ७ र ग्लेन म्याक्सवेलले दुई रन बनाए ।

भारतको लागि जस्प्रित बुम्राले ९ ओभरमा २ मेडन राख्दै ४३ रन दिएर २ विकेट लिँदा मोहम्मद शामी र मोहम्मद सिराजले समान एक-एक विकेट लिए ।

यसअघि अहमेदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको भारतले ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ४० रन बनाएको थियो । भारतको लागि केएल राहुल र विराट कोहलीले सतक बनाउँदा अन्य ब्याट्सम्यानले सम्मानजनक स्कोर बनाउन सकेनन् । राहुलले १ सय ७ बलमा १ चौकाको मद्दतमा ६६ रन बनाउँदा विराटले ५४ रन बनाए । उनले ६३ बलमा ४ चौका प्रहार गरे । यस्तै कप्तान रोहित शर्माले ४७, सूर्यकुमार यादवले १८ र कुलदिप यादवले १० रन बनाए ।

अष्ट्रेलियाको लागि मिट्चेल स्टार्कले १० ओभरमा ५५ रन दिएर ३ विकेट लिँदा जोश हज्लेवुड र प्याट कमिन्सले दुई-दुई तथा ग्लेन म्याक्सवेल र एडम जाम्पाले समान एक-एक विकेट लिए ।

जितसँगै अष्ट्रेलियाले छैटौंपटक विश्वकपको उपाधि जितेको हो । यसअघि अष्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकपको उपाधि जितेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *