भक्तपुरको मध्यपुर अस्पतालमा एमआरआई सेवा सुरु

 

भक्तपुर ।  भक्तपुरमा पहिलो पटक एमआरआई सेवा सुरु भएको छ । मध्यपुरथिमिमा विगत १३ वर्षदेखि सञ्चालनमा रहेको मध्यपुर अस्पतालले आफ्नो स्थापनाको १३ वर्षमा १३ करोडको लागतमा एमआरआई सेवा सञ्चालनमा ल्याएको अस्पताल सञ्चालक समितिका अध्यक्ष विष्णुराज कार्कीले जानकारी दिए ।

बिरामीको उपचार सेवालाई थप प्रभावकारी बनाउन र एमआरआई सेवाका लागि बिरामीले काठमाडौँका विभिन्न अस्पतालमा भौँतारिन नपरोस् भनी सहुलियतमा सेवा दिने गरी एमआरआई मेसिन ल्याएर सेवा सुरु गरेको उनले बताए ।

अस्पतालकी निर्देशक एवं वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा रविना प्रधानाङ्गले विभिन्न रोग पत्ता लगाउन रेडियोलोजी विधामा एक्सरे, अल्ट्रासाउन्ड र सिटी स्क्यानपछि नयाँ प्रविधिको रुपमा एमआरआई प्रविधिको विकास भएको बताइन् ।

उनले म्याग्नेटिक रिजोनेन्स इमेजिङ अर्थात् एमआरआई प्रविधि शक्तिशाली चुम्बकको प्रयोगद्वारा शरीरका अङ्गको सूक्ष्म तथा विस्तृत अध्ययन गर्ने प्रविधिको रुपमा परिचित रहदै आएको यो प्रविधिलाई मध्यपुर अस्पतालले भक्तपुरमा पहिलो पटक भित्राएको बताइन् ।

मध्यपुर अस्पतालले भक्तपुर जिल्लामै पहिलो पटक एमआरआई सेवा सुरु गरेको भन्दै अध्यक्ष कार्कीले अब एमआरआई सेवा लिन भक्तपुर तथा काभ्रेपलाञ्चोक लगायतका पूर्वका बिरामीले काठमाडौँ भौंतारिनुपर्ने बाध्यता अन्त्य भएको दाबी गरिन् । सरकारले भक्तपुरको लागि बीमाका बिरामीलाई यो सेवा दिने व्यवस्था गरिदिए यहाँका बिरामीलाई धेरै सजिलो हुने उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *