सरकार र शिक्षक महासङ्घबीच आजपनि वार्ता हुँदै

काठमाडौँ । विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घ र सरकारबीच आजपनि वार्ता हुँदैछ । बिहीबार बेलुकी बसेको वार्ता सकारात्मक निश्कर्षसहित टुङ्गिएको टुंगिएपनि वार्ता आजपनि बस्न लागिएको हो ।

शुक्रबार बिहान ८ बजे फेरि बस्ने तय भएको नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

बिहीबार भएको वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा प्रकाशशरण महत, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई र कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र सम्बन्धित मन्त्रालयका सचिवहरू सहभागी थिए । त्यस्तै शिक्षकको तर्फबाट शिक्षक महासङ्घका पदाधिकारीहरू थिए ।

सरकारले विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा दर्ता गरेपछि त्यसमा रहेका प्रावधानप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरूले आन्दोलन गरेका हुन् । शिक्षकको सरुवा, बढुवा र कारबाहीको व्यवस्था स्थानीय तहलाई दिन नहुने, शिक्षकलाई ट्रेड युनियन अधिकार दिनुपर्नेजस्ता राजनीतिक र सेवा सुविधासँग सम्बन्धित गरी १७ बुँदे माग राखेर शिक्षक महासङ्घले बुधबारदेखि काठमाडौँमा आन्दोलन गर्दै आएको छ । शिक्षकले देशभरका सामुदायिक विद्यालयमा पठनपाठन ठप्प पारेर आन्दोलन गरिरहेका छन् ।

यसैबीच संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेका नेकपा (एमाले) का सांसदहरूले शिक्षामन्त्री राईसँग भेट गरी शिक्षा विधेयक फिर्ता लिन सुझाव दिएका छन् ।

नेकपा (एमाले) का तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने र संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेका सांसदहरूले शिक्षामन्त्री राईसँग भेट गरी शिक्षा विधेयक फिर्ता लिन सुझाव दिएको भेटपछि एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए । तीन तहको सरकारको दायित्वलाई व्यवस्थित ढङ्गले संविधानले दिएको सीमाभित्र रहेर अघि बढ्ने गरी सङ्घीय शिक्षा ऐन आउनुपर्ने सांसदहरूको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *