अपानिले अप्ठ्यारोमा एकीकृत समाजवादी

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केही दिनअघि अन्तरपार्टी निर्देशन जारी गर्दै पार्टीका नेताहरुको कार्यविभाजन समेत गरेको थियो । तर कार्यविभाजनलाई लिएर यतिबेला एकीकृत समाजवादीमा असन्तुष्टि बढेको छ । कतिपय नेताले आफूहलाई दिएको जिम्मेवारी अस्वीकार गरेका छन् । कार्य विभाजनमा पार्टीका सम्मानित नेता झलनाथ खनाल पक्षलाई अध्यक्ष माधव नेपाल पक्षले विभेद गरेको आरोप पनि लागेको छ । त्यही असन्तुष्टिका कारण कतिपय नेता नेकपा एमालेमा फर्किएका छन् भने केहीले पार्टी परित्याग गरी स्वतन्त्र रहने घोषणा गरेका छन् । पछिल्लो समय पार्टीका नेताहरुको कार्यविभाजनलाई लिएर एकीकृत समाजवादीमा झनै असन्तुष्टि बढेको छ ।

अध्यक्ष माधव नेपाल र सम्मानित नेता खनाल दुई समूह केन्द्रित भएर विवाद बढ्न थालेको देखिन्छ । संस्थापन पक्षले संगठनमा प्रभावी हुने गरी नेताहरूको जिम्मेवारी हेरफेर भएको बताइएको छ । अहिलेको अन्तपार्टी निर्देशनलाई महाधिवेशन केन्द्रित भनेर पनि टिप्पणी हुन थालेको छ । कतिपय नेताले त जिम्मेवारी अस्वीकार गर्ने सामाजिक संजालमार्फत घोषणा नै गरेका छन् । गण्डकी प्रदेश सभाका सांसद दीपक मनाङेले केन्द्रीय परिषद् सदस्य पद अस्वीकार गरेका छन् । सामाजिक संजालमार्फत मनाङेले यो निर्णय र जिम्मेवारी आफूसँग सल्लाह नगरी दिइएको भन्दै तत्काललाई उक्त पदमा नबस्ने घोषणा गरेका हुन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, ‘नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सचिवालय वैठकको निर्णय अनुसार मलाइ केन्द्रीय परिषदको सदस्यमा मनोनित गरेको भन्ने सुचना प्राप्त भयो । यो निर्णय र जिम्मेवारी मसँग सल्लाह गरि गरिएको होइन । जनताबाट निर्वाचित जनप्रतिनिधिहरु जनतासँग उत्तरदायी हुन्छन्, धेरै समय जनतासँग प्रत्यक्ष जोडिएका कामहरु र संसदीय कामकाजमा व्यस्त हुनुपर्दछ । जसका कारण पार्टीका काममा समय दिन नभ्याइने पनि हुनसक्छ । एउटै व्यक्तिले अनेक पदको भारी बोक्नु राम्रो होइन । त्यसैले मलाई दिइएको जिम्मेवारी स्वीकार्य नभएको र पद पार्टीकै अन्य योग्य युवाहरुलाई दिंदा पार्टीलाई अझ बढी फाइदा हुन्छ । युवाहरुलाई अगाडि बढाउने कुरामा मेरो सधैं समर्थन रहन्छ । एक व्यक्ति एक पदको नारा नारामा मात्र सीमित नगरी कार्यान्वयनमा पनि ध्यान दिन पार्टी नेतृत्वलाई अवगत गराउन चाहन्छु।’

केन्द्रीय सदस्य राजु गुरुङले पनि पार्टीको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । उनले अपानि जारी भएलगत्तै पार्टी जिम्मेवारीमा नरहेको घोषणा गरेका छन् । त्यस्तै पर्यटन विभागमा मनोनित कुमार थापाको पनि असन्तुष्टि देखिएको छ । पार्टी पोलिटब्युरो सदस्य प्रेम आलेको आचारणमा उनले प्रश्न उठाएका छन् । आलेलाई पर्यटन विभागको इञ्चार्ज बनाएर थापालाई विभागको सदस्य बनाइएको थियो । पार्टीका नेताहरुले सामाजिक संजालमार्फत पार्टीको निर्णयप्रति असन्तुष्टि जनाइरहँदा पार्टीका सम्मानित नेता खनालले पनि नेतृत्वप्रति नै असन्तुष्टि जनाएका छन् ।

उनले नेतृत्वबाट काम नभएपछि पार्टीका नेता विद्रोही हुँदै गएको र निराश भएको बताएका छन् । तर, पार्टीमा अहिले देखिएको विवादलाई अध्यक्ष माधव नेपालका स्वकीय सचिव मोहन गौतमले सामाजिक संजालमार्फत मनोनयमा कमजोरी हुन सक्ने तर विधिबाट सच्याउन सकिने भएकाले परिस्थितिलाई मत्थर पार्नुपर्ने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘अपानि भनेको तत् समयको कामको निर्देशन र विन्यास हो, यसमा केही नमिलेका बिषयहरू स्थापित बिधि मार्फत नै सच्याउन पनि सकिन्छ । यस्तै मनोनयनमा पनि कमजोरी हुनसक्छन् । हामी महाधिवेशनको सम्मुख छौं र धेरै बिषयको फैसला महाधिवेशनले गर्ने नै छ । अतः चित्त नबुझेका बिषयहरू पद्दतिसंगत रूपमा कमिटी वा पार्टीका फोरमहरूमा राखौं । महाधिवेशनबाट नयाँ ढंगले समाजवादी आन्दोलन अघि बढाउने दृढता सहित बहसको आरम्भ गरौं र सोही अनुसारको संगठन बनाऔं ।’

नेकपा एकीकृत समाजवादीले आगामी माघ १४ देखि १८ गतेसम्म पार्टीको दशौं महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । यस्तो अवस्थामा अहिले पार्टीभित्र देखिएको नेताहरुको असन्तुष्टिलाई नेतृत्वले सम्बोधन गर्न सक्ला त ? कि नेपाल खनाल दुई धारमै अघि बढ्ला पार्टी ? त्यसका लागि भने नेतृत्वको आगामी गतिविधिबाट नै थाहा होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *