पुराना आईफोन ढिलो बनाइदिएको आरोप खेपेको एपल कम्पनीले उक्त विवाद टुङ्ग्याउन ११ करोड ३० लाख अमेरिकी डलर तिर्ने भएको छ । अमेरिकाका ३३ राज्यले प्रयोगकर्ताहरूलाई नयाँ आईफोन किन्न बाध्य पार्न एपल कम्पनीले पुराना साधन सुस्त बनाइदिएको दाबी गरेका थिए ।
सन् २०१६ मा लाखौँ प्रयोगकर्ताहरूले आईफोन सिक्स, सेभन र एसईमा समस्या खेपेका थिए। त्यसलाई ‘ब्याटरीगेट’ को सङ्ज्ञा दिइएको थियो । एपलले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ। यसअघि उसले पुरानो ब्याटरीको आयु बढाउन फोन ढिलो पारिएको तर्क गरेको थियो । यसअघि गत मार्च महिनामा उसले एउटा छुट्टै मुद्दामा प्रभावित प्रयोगकर्ताहरूलाई ५० करोड डलरसम्म तिर्न सहमति गरेको थियो ।
सन् २०१६ मा एपलले आईफोन सिक्स, सेभन र एसई मोडलका सफ्टवेअर अद्यावधिक गरेको थियो। त्यसो गर्दा पुराना फोनहरूमा चिपको गति सुस्त भएको थियो । अनुसन्धानकर्ताहरूले सन् २०१७ मा अस्वाभाविक रूपमा आईफओननको गति घटेको पत्ता लगाएपछि एपलले सफ्टवेअर अद्यावधिक गर्दा त्यसो भएको स्वीकार गरेको थियो ।
विभिन्न अमेरिकी राज्यहरूले एपल कम्पनीले छलपूर्वक व्यवहार गरेको दाबी गर्दै उसले बरु ब्याटरी फेर्नुपथ्र्यो वा समस्याबारे स्पष्ट रूपमा जानकारी दिनुपर्ने तर्क गरेका थिए । एरिजोना राज्यमा सङ्कलित विवरणअनुसार दशौँ लाख आईफोन प्रयोगकर्ताहरू उक्त समस्याबाट प्रभावित भएका थिए । एपलले आर्थिक लाभका लागि फोन ढिलो पारिएको भन्ने आरोप खण्डन गर्ने गरेको छ ।
एरिजोनाको अदालतमा पेस गरिएको एउटा दस्तावेज बुधवार सार्वजनिक गरिएको छ । त्यसमा उक्त राज्यका महाधिवक्ताले लेखेका छन्, ‘धेरै उपभोक्ताले उपयोगी केवल एउटा उपाय एपलबाट नयाँ मोडलको आईफोन किन्नु हो भन्ने निधो गरे ।
एपललाई अवश्य पनि विक्री वितरणमा त्यसको प्रभाव पर्छ भन्ने थाहा थियो। ’ सम्झौतामा एपलले आफूले कुनै अनुचित काम गरेको वा कानुन उल्लङ्घन गरेको स्वीकार गरेको छैन ।
उक्त विशाल प्रविधि कम्पनीले आईफोन पावर व्यवस्थापनबारे आगामी तीन वर्ष आफ्नो वेबसाइट, सफ्टवेअर अप्डेट टिपोट र आईफोन सेटिङ्समा सत्य सूचना दिने सहमति गरेको छ ।
विभिन्न आरोपहरूको शृङ्खलापछि एपलले अहिले यस्तो सम्झौता गरेको हो । एप स्टोरमा आफ्नो प्रभुत्व भएकाले आईफोन निर्माता उक्त कम्पनीले विकासकर्ताहरूबाट अनुचित रूपमा पैसा लिने गरेको आरोपका पनि लागेको छ । यसै विषयमा एपिक गेम्सले एपलविरुद्ध एउटा मुद्दा हालेको छ ।