डा. युवराज संग्रौला ।
मैले लेखेको पोस्टमा धेरैले सोध्ने गरेको एउटा प्रश्न हो, त्यसो भए समाधान चाहिँ के हो ? एउटा कथा पढ्नुहोस् ।
एक देशमा एउटा भद्र, सालिन र स्वावलम्बी परिवार थियो । उनीहरुको सानो घर थियो, थोरै बारी थियो, उनीहरुका आफ्नै हलगोरु थिए । उनीहरु खेती गर्थे खान्थे । उनीहरुको छेउमा एउटा ठूलो घर थियो, त्यो अलिसान दरवार थियो । बारी विशाल थियो । खेताला अनेक थिए।
झुपडीवालाको पनि आरामसँग बस्ने बाँच्ने चाहना थियो । त्यसैले उनीहरुले घरको छाना बदल्ने, घरमा रंङ्ग लगाउने, घरभित्र कुर्सी टेवल खाट फेर्ने विचार गरे । उनीहरुले भने हाम्रो अधिकार हो त्यसो गर्न पाउनु । उनिहरु जस्ता किन्न गए, ठूलो घरले भन्यो किन चहियो जस्ता, किन फेर्नु पर्यो छानो ? फर्निचर किन्न गए, किन चाहियो फर्निचर सानो घरलाई, गुन्द्री छँदैछ । खुकुरी किन्न गए, ठूलो घरले भन्यो, तिम्रो खुकुरीले मेरो असुरक्षा हुन्छ ।
सानो घरमा मान्छे आफ्नो घर राम्रो पार्नु अधिकार ठान्छन्, किनभने उनीहरु आफैं आफ्ना घरका मालिक हुन् । अफसोस्, उनीहरुले बुझेनन्,
१. ठूलो घरमा मान्छे, सानो घरमा मान्छेका पनि आफूलाई मालिक ठान्छन्, त्यसैले घर राम्रो पार्दा उनलाई सोध्नु पर्छ । किन ऊ त्यस्तो ठान्छ ? ऊ कसरी मालि भयो हाम्रो ? किनभने, झुपडीमा बाबू ठूलो घरका मालिकलाई मालिक भनेर बोलाउँछन्, उनका जडौली ल्याएर लगाउँछन् । झुपडीका बालबालिका लुकीलुकी ठूला घरकाले फयाँकेका आइस्क्रिमका खोल चाटछन् । त्यसैले ठूला घरले झुपडीलाई हेप्छ ।
२. आफ्नो अधिकारको प्रयोग गर्न संघर्ष गर्नुपर्छ । तर्क सिक्नुपर्छ, आँट बटुल्नु पर्छ । पर्यो भने त्याग गर्नुपर्छ । तबमात्र स्वतन्त्रताले पत्याउँछ ।
यो कथा संयुक्त राष्ट्रसंघको ७७ औ साधारणसभामा एल साल्भाडोरका युवा राष्ट्रपति नाइब ओर्लान्दो बुकालेले सुनाएका थिए । सानो एल साल्भाडोर अमेरिकी प्रभुत्वको विरुद्धमा सालिन स्वरमा यो कथा भनिरहेका थिए । उनले भने,
– गरीव परिवारले धनीको चाहना भएपछि मात्र घर बनाउँछु भन्ने लघुताभाष छोड्नुपर्छ किनभने उनीहरुलाई पनि राम्रो घरमा बस्ने स्वतन्त्रता छ ।
– बाबुले ठूला घरका मान्छेलाई मालिक भन्न छोड्नु पर्छ । छोराछोरीले मालिकका रछ्यानमा फ्याँकेका आइसक्रिमका खोल चाट्न छोड्नुपर्छ ।
नेपालले खोज्ने समाधान हो,
– राष्ट्रको रुपमा हामीले हाम्रो आत्मनिर्णयको अधिकारको प्रयोग गर्ने आँट गर्नुपर्छ । हामीले हाम्रो घर सिंगार्नु पर्छ । हामीलाई हाम्रो घर मर्मत गर्ने, रङ्ग लगाउने अधिकार छ ।
– हामीले हाम्रो खेत बारीमा खेती गर्नुपर्छ । ठूला घरसँग् माग्ने आदत छोड्नु पर्छ । जब हाम्रो आफ्नै भकारी भरी हुन्छ, ठूला घरसँग डराउनु पर्दैन । कुनै दानी आएर म गरिदिन्छु भन्दा पत्याउनु हुँदैन ।
– त्यसैले हामीसँग ठूला घरसँग् लड्ने विचार हुनुपर्छ । मालिकसँगको लंडाइँ लड्न बुद्धि चाहिन्छ । कमिलाहरु सोचेर काम गर्छन्, भेडाहरु भ्यां भ्यां गर्ने अघिल्लो भेडाका पछाडि पछाडि हिँड्छन् । समाधान सोच बोकेका कमिलाको मति हो ।
यो पनि
देश राजनीतिक खेलले होइन, नागरिकको उद्यमशिलता र इमान्दारिताले बन्छ भन्ने विश्वास गरौँ
पृथ्वीनारायण र लखन थापाको सालिक एकैठाउँमा राखेर इतिहासको सम्मान गर्नुपर्छ
