चितवन । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले भ्रष्टाचार प्रकरणमा माओवादी नेताहरु जोडिएपछि खुलेका फाइल बन्द हुनसक्ने बताएका छन् ।
मंगलबार नेपाली कांग्रेस रत्ननगर नगरपालिकाको नगर सम्मेलनमा सांसद पौडेलले माओवादी नेता भ्रष्टाचारमा जोडिएपछि फाइल बन्द हुने खतरा बढेको बताएका हुन् ।
उनले भने, ‘फाइल खोलेपछि आफ्ना नपर्ने अरुको मात्रै पर्ने भन्ने हुँदैन । आफ्ना पर्न थालेपछि भ्रष्टाचारको अनुसन्धानको यात्रा अड्किएको देखियो ।’
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठको व्यवहार प्रति असन्तुष्टि जनाए । उनले वर्तमान सरकारले नागरिकका पक्षमा अरु केही कार्य नगरेको बताए ।
उनले भने,’भ्रष्टाचारका अलि अलि फाइल खोल्न खोजेको छ । फाइल खोेलेर प्रधानमन्त्री जस लिन खोज्नुहुन्छ । हामी पछाडी बसेर अँध्यारो भइरहेका छौं ।’ उनले प्रधानमन्त्रीलाई कांग्रेसको शक्तिले पदमा पुगेको हेक्का राख्न आग्रह गरे ।