मेरो चरित्र हत्या गरियो, काम गरेर देखाउँछुः उपाध्यक्ष लामा

काठमाडौं । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामाले आफ्नो नियुक्तिलाई लिएर चरित्र हत्या गरिएको भन्दै आपत्ति जनाएका छन् । सोमबार विज्ञप्ति जारी गरी उपाध्यक्ष लामाले आफूमाथि लगाएका अभियोगहरुको अदालती परीक्षणमा समेत सधैं सफाइ पाएको भन्दै आफूविरुद्ध लान्छना नलगाउन आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘विगत केही वर्षयता जब जब मलाई राज्यको तर्फबाट जिम्मेवारी दिइन्छ त्यहिबेला मविरुद्ध यस्ता लान्छाना लगाउने गिरोह र मिडिया सधै संगठित रुपमा सक्रिय हुने गरेका छन् र तिनीहरु एउटै जमात छन् । मेरो विरोध र निन्दा गर्नुलाई नै आफ्नो पेशा बनाएकाहरुप्रति मलाई केही पनि भन्नु छैन । मैले सार्वजनिक जीवनमा प्रवेश गरेको यो २३ वर्षका बीचमा गरेका कामहरु राज्यको रेकर्डमा र पब्लिक अडिटमा छन् । हुँदै नभएका र गर्दै नगरेका अपराधको समेत मलाई अभियुक्त बनाउनेहरुसँग कानूनी लडाइमै जितेर आएको मान्छे हुँ । ’ उनले आफूमाथि लगाइने यस्ता नियोजित र निराधारहरु आरोपहरुको खण्डन कामबाटै गर्ने बताएका छन् ।

यस्तो छ लामाको विज्ञप्ति
विश्वभरका बौद्ध धर्माबलम्बीहरुको आस्थाको केन्द्र लुम्बिनी विकास कोषको उपाध्यक्षको जिम्मेवारी दिने नेपाल सरकारको निर्णयप्रति म आभार व्यक्त गर्दछु । लुम्बिनीको विकास र यसको अन्तर्राष्ट्रिय पहुँच तथा पहिचान विस्तारका लागि मलाई योग्य ठानेर नियुक्त गर्ने मन्त्रिपरिषद,सम्माननीय प्रधानमन्त्री,माननीय मन्त्रीसहित सबैप्रति अभारी छु । लुम्बिनी विकास कोषको उपाध्यक्षमा मेरो नियुक्तिपछि केही मिडियाले मविरुद्ध चरित्रहत्याको निम्नतस्तरीय तहमा उत्रिएर गरिएका समाचार टिप्पणी र लान्छानाहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । विगत केही वर्षयता जब जब मलाई राज्यको तर्फबाट जिम्मेवारी दिइन्छ त्यहिबेला मविरुद्ध यस्ता लान्छाना लगाउने गिरोह र मिडिया सधै संगठित रुपमा सक्रिय हुने गरेका छन् र तिनीहरु एउटै जमात छन् ।

उनीहरुले लगाएका अभियोगहरुको अदालती परीक्षणमा समेत मैले सधैं सफाइ पाएको छु तर जब उनीहरुको स्वार्थमा धक्का लाग्छ,तब मविरुद्ध समाचारका खेति हुने गरेका छन् । यो भनेको सम्मानित अदालतको समेत अपहेलना हो । अघिपछि मैले संविधान सभा सदस्य,व्यवस्थापिका संसदको सदस्य वा राजनीतिक दलको जिम्मेवार पदमा रहेका बेला तथा अन्तर्राष्ट्रिय फोरमहरुमा मैले देशको र बुद्ध जन्मस्थल लुम्बिनीको पक्षमा बोल्दा तथा लबिङ ग र्दा नउठ्ने प्रश्न जब मैले देशको पक्षमा केही काम गर्ने बेला हुन्छ त्यसमा अवरोध सिर्जना गर्ने नियतले यस्ता अफवाहहरु फैलाइने गरेका छन् । केही सिमित मिडिया र व्यक्तिहरु यसमा संलग्न छन्,सबै होइन ।

म हेलम्बुजस्तो दुर्गम गाउँमा गरिव आदिवासी जनजाति परिवारमा जन्मिनु,मैले बौद्ध दर्शनको शिक्षादीक्षा लिएर बुद्धत्वको प्रचार प्रसारमा आफ्नो जीवन समर्पित गर्नु नै मेरो अपराध हो भने यो अपराधबाट मैले कहिल्यै सफाइ पाउन सक्दिन । बाँकी उनीहरुले लगाएका सबै आरोपहरुको राज्यका संवैधानिक अंग तथा अनुसन्धान गर्ने अख्तियारीप्राप्त निकायहरुको अनुसन्धानबाट मैले पटक पटक सफाइ पाएको सत्य किन स्वीकार गर्न सक्दैनन् केही मान्छेहरु ? के अदालतले सफाइ दिए पनि केही पेशवर मेरा विरोधीहरुको इजलालसले सफाइ नदिएसम्म मैले अभियुक्त र अपराधी नै भइदिनुपर्ने हो ?

कहिले नागरिकताको प्रश्न उठाए,कहिले सम्पत्ति शुद्धिकरणको । कहिले हातहतियारको त कहिले ठगीको । तर ती सबै मविरुद्ध र मैले अबलम्बन गरेको धार्मिक आस्थामाथि हिलो छ्याप्ने नियतबाट लगाइएका अभियोग थिए भन्ने सम्मानित अदालतबाट पुष्टि भइसकेका छन् ।
मविरुद्ध राज्यकै जिम्मेवार निकायमा बसेका केही व्यक्तिले पदको दुरुपयोग गरेर लगाइएका झुठा मुद्दाहरुबाट समेत मैले सफाइ पाइसकेको यथार्थ स्वीकार गर्न नसकी लगातार आक्रमण गर्नेहरुप्रति मेरो केही भन्नु छैन । के मैले उनीहरुका आरोपबाट सफाइ पाउन मृत्यु नै रोज्नु पर्ने हो ? उनीहरुको यो चाहना हो भने मलाई बुद्ध दर्शनले त्यति कायर पनि बन्न प्रेरित गर्दैन ।

मेरो विरोध र निन्दा गर्नुलाई नै आफ्नो पेशा बनाएकाहरुप्रति मलाई केही पनि भन्नु छैन । मैले सार्वजनिक जीवनमा प्रवेश गरेको यो २३ वर्षका बीचमा गरेका कामहरु राज्यको रेकर्डमा र पब्लिक अडिटमा छन् । हुँदै नभएका र गर्दै नगरेका अपराधको समेत मलाई अभियुक्त बनाउनेहरुसँग कानूनी लडाइमै जितेर आएको मान्छे हुँ ।

बुद्धका उपदेशबाट एक इन्च दायाँबायाँ गरेको छैन र मेरो जीवन दर्शन र मैले आर्जन गरेको शिक्षाले त्यो गर्न दिदैन । यो प्रेस वक्तव्यमार्फत के प्रण गर्छु भने,ममाथि लगाइने यस्ता नियोजित र निराधारहरु आरोपहरुको खण्डन मैले मेरो कामबाटै गर्नेछु । लुम्बिनी विकास कोषको जिम्मेवारी केही मान्छेका लागि जागिर होला तर मेरो लागि गहन जिम्मेवारी हो । जुन दर्शन र सभ्यताको अन्तर्राष्ट्रियकरण गर्न मैले व्यक्तिगत रुपमा भूमिका खेलिरहेको थिएँ अब राज्यको जिम्मेवारीमा रहेर त्यसलाई प्रमाणित गर्नेछु । मेरो नियुक्तिप्रति आशावादी भएर बधाइ तथा शुभकामना दिनु हुने र सत्मार्गमा अघि बढिरहन प्रेरणा दिने सबैमा आभार व्यक्त गर्दछु ।

डा.ल्हारक्याल लामा
उपाध्यक्ष,लुम्बिनी विकास कोष

Leave a Reply

Your email address will not be published. Required fields are marked *