चीनले प्रस्तावित बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)का पारस्परिक लाभबारे जानकारी दिने उद्देश्यले क्युवाको राजधानी हवानमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको छ ।
बिआरआई पहलको दशौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको सम्मेलनमा क्युवाका लागि चिनियाँ राजदूत मा हुईले बिआरआईले सभ्यताहरूबीच व्यावहारिक सहयोग र आपसी सिकाइलाई अझ सघन बनाएको बताए ।
‘चीनले आफ्नो स्थायित्व र विकासका साथै विश्व शान्ति र प्रगति प्रवर्द्धन गर्न सबै पक्षसँग काम गर्नेछ,’मानवजातिको साझा भविष्य निर्माणलाई बिआरआईले लक्ष्य बनाएको बताउँदै चिनियाँ राजदूतले भने । मानव समाजले सामना गरिरहेका वर्तमान चुनौतिहरूसँग विश्वव्यापी आर्थिक पुनरुत्थानको लागि लामो बाटोमा साथसाथै अघि बढ्न बिआरआईको अवधारणा अघि सारिएको उनले स्पष्ट पारे ।
क्युवाका लागि इन्डोनेसियाका राजदूत नाना युलियानाले विगत पाँच वर्षमा इन्डोनेसिया र चीनबीचको व्यापार बढेको बताए । बिआरआईले इन्डोनेसियाको सम्पर्क सञ्ञ्जाल विस्तार र पूर्वाधार विकासका निम्ति उत्कृष्ट अवसर प्रदान गरेको बताए ।
‘बेल्ट एण्ड रोड इनिसिएटिभअन्तर्गतका चिनियाँ परियोजनाहरूले द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्ने, आर्थिक विकासलाई प्रवर्द्धन गर्ने र पूर्वाधार, व्यापार र ऊर्जा लगायतका विभिन्न क्षेत्रमा सहयोग बढाउन दुवै देशको प्रतिबद्धता देखाउँछन्,’ क्युबाका लागि इजिप्टका राजदूत माहेर एल–अदावीले भने ।
अडावीको कुरालाई प्रतिध्वनि गर्दै क्युबाका लागि पाकिस्तानी राजदूत शाहबाज मलिकले बीआरआईअन्तर्गत पाकिस्तान र चीनबीचको संयुक्त आयोजनाले ऊर्जा र यातायात क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गरेको बताए ।
सिल्क रोड इकोनोमिक बेल्ट र २१ औँ शताब्दीको सामुद्रिक सिल्क रोड मिलेर बनेको बिआरआईलाई सन् २०१३ मा चीनले एशिया र बाँकी विश्वलाई जोड्ने व्यापार र पूर्वाधार सञ्जाल निर्माण गर्न अघि सारेको महत्वाकाङ्क्षी परियोजना हो ।
बिआरआई अवधारणा सार्वजनिक भएको एक दशकको अवधिमा विश्वका एक सय ५० भन्दा बढी देश र ३२ वटा अन्तरराष्ट्रिय संस्थाले बीआरआईसम्बन्धी दस्तावेजमा हस्ताक्षर गरेका छन् ।