डा. युवराज संग्रौला ।
ख्रुस्चेव( सोभियत संघको कम्युनिष्ट पार्टीको प्रथम सचिव) चीन गए र मागे । ‘हामी चीनको समुद्र तटमा उच्च फ्रिक्वेन्सीको रेडियो स्टेसन बनाउन चाहन्छौं ।’ ‘कसको स्वामित्व हुन्छ ?’ माओले सोधे । ‘हाम्रो।’ ख्रुस्चेवले बताए । ‘हुन्न, हामी अरुको जमिनमा एक पाइला पनि टेक्दैनौं र अरुलाई टेक्न पनि दिन्नौं।’ माओले प्रतिवाद गरे । ‘हामी कम्युनिष्ट मिल्नुपर्छ। हामी युरोपलाई नियन्त्रण गर्छौं तिमीहरु एसियालाई गर।’ ख्रुस्चेवले भने । ‘हामी उनीहरुको देशको कुरा त्यही देशका जनताले निर्णय गर्न पाउनुपर्छ भन्ने कुरामा विश्वास गर्छौं।’ माओले भने । ख्रुस्चेव फर्किए र १,३९० जना वैज्ञानिकलाई फिर्ता गरे र ४०० सम्झौता रद्द गरे । चिनियाँ नेताले भने ‘आफ्नो देश आफैंले बनाउनु पर्ने रहेछ।’
बृटिस जर्नेल मोन्टेगोमरी, जो विश्वयुद्धका एक हिरो थिए, ले माओलाई चीन घुम्ने इच्छा कसैद्वारा पठाए । माओले निम्ता पठाए र भने ‘जहाँ जहाँ जान्छन् हेर्न दिनु।’ चीन घुमेर मोन्टगोमरी माओलाई भेट्न बेइजिङ्ग आए । उनले ५५५ सिगरेटको एक बट्टा उपहार दिए । उनीहरु दुईको गफ कुटनीतिमा सम्झनायोग्य मानिन्छ । माओ ‘थ्यांक्यु । आइ स्पिक इङ्ग्लिस अ लिटल, अ लिटल।’ मोन्ट्गोमरी, ‘आइ हर्ड यु वान्स क्वाइन्ड अ ओर्ड (मैले सुनें तपाईंले एक पटक एउटा अंग्रेजी शब्द बनाउनु भयो।’
माओ, ‘त्यो हो, पेपर टाइगर।’ कुरा बदल्दै माओले सोधे, ‘चीन घुम्दा के ले सबैभन्दा ध्यान तान्यो ?’ मोन्टगोमरी,‘तपाईका जनताको तपाईं प्रतिको आदर । मैले धेरै देश डुलेको छु तर नेताप्रति तंपाईंको जति जनताको आदर पाइनँ ।’ माओ (घोरिँदैं), ‘पानीले डुंङ्गा तैराउँछ पनि डुवाउँछ पनि । नेताले आदर तब प्राप्त गर्छ जब उसले जनताका आकांक्षाको प्रतिनिधित्व गर्छ । यदि कुनै दिन उसले जनताको लागि काम गर्दैन भने र जनता दुःख देख्दैन भने जनताले उसलाई भुईंमा पछार्छन् ।’ मोन्टगोमरी, ‘म धेरै कारखाना गएँ । हो, चीन अहिले गरीब देश छ, तर यसको बृद्धिको सम्भावना व्यापक छ । म ठान्छु, आजका ५० वर्षमा चीन विश्व शक्ति बन्नेछ।’ के हाम्रा देशका मुलधार र विकल्पवालालाई थाहा छ, नेतालाई जनताले आदर गर्दैनन्, नेपालमा । के डुङ्गा नघोप्टेला ?
