प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि फ्रान्समा सुरु भएको आन्दोलनले हिंसात्मक रुप लिएको छ । गत मंगलबार ट्राफिक नियम उल्लंघन गरेको भन्दै प्रहरीले कार चालक १७ वर्षीय युवक नाहेल एमलाई गोली हानेको थियो ।
घटनापछि प्रदर्शनका क्रममा १५० जनाभन्दा बढीलाई गिरफ्तार गरिएको छ । फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिनले हिंसा भएको र सहरमा जताततै आगो लगाई आक्रमण गरिएको बताएका छन् ।
प्रदर्शनकारीले गाडीमा आगजनी र प्रहरीमाथि आक्रमण समेत गरेका छन् । गोली हान्ने प्रहरी अधिकारीमाथि अहिले अनुसन्धान भइरहेको बताइएको छ । फ्रान्सका राष्ट्रपति इम्मानुयल म्याक्रोनले प्रहरीले त्यसरी गोली चलाएको घटना माफीयोग्य नभएको बताएका छन्।
देशभर तनावको स्थिति सिर्जना भएपछि उनले मन्त्रीहरुको आपतकालीन बैठकसमेत बोलाएका छन् । प्रहरीको गोलीबाट मारिने युवक फ्रान्सिसी–अल्जेरियाई मूलको परिवारका सदस्य हुन् ।