म्यान्मारमा हवाई हमलामा १० सर्वसाधारणको मृत्यु

म्यानमारको एक गाउँमा सेनाले गरेको हवाई आक्रमणमा परी १० सर्वसाधारणको मृत्यु भएको छ । म्यान्मारमा सन् २०२१ मा भएको सैन्य ‘कू’ पछि युद्धले ठूलो क्षति पु¥याएको छ भने जुन्ताले जातीय विद्रोही र दर्जनौँ नयाँ ’पिपुल्स डिफेन्स फोर्सेज’सँग लडिरहेको छ ।

अधिकारवादी समूहहरूले सेनामाथि गैरन्यायिक हत्या गरेको, गाउँहरू ध्वस्त पारेको र हवाई आक्रमणलाई आफ्ना विरोधीहरूको सामूहिक सजायको रूपमा प्रयोग गरेको आरोप लगाएका छन् ।

उत्तरी सागाइङ क्षेत्रको न्याउङ कोने गाउँमा मङ्गलबार अपराह्न एक सैनिक विमानले तीनवटा बम खसालेको उक्त गाउँका विद्रोही लडाकू को जाउ तुनले जानकारी दिए ।

उनले सेनाको आक्रमणमा १० सर्वसाधारणको मृत्यु भएको र आठ जना घाइते भएको बताए । “त्यहाँ कुनै झगडा भएको थिएन, तर उनीहरू गाउँमा बम विस्फोट गर्न आएका थिए,” उनले भने । आक्रमणमा ११ घर ध्वस्त भएका स्थानीयले बताएका छन् ।

न्याउङ कोनका एक बासिन्दाले एएफपीलाई बताएअनुसार आक्रमणमा १० जनाको मृत्यु भएको छ । उनले र अन्य स्थानीयले सोही साँझ मृतकको अन्त्येष्टि गरिएको बताउँदै सेनाले प्रतिशोध लिने डरले समाचारमा आफ्नो नाम प्रयोग नगर्न आग्रह गरे ।

‘कू’ सुरु गरेको दुई वर्षभन्दा बढी भइसक्दा पनि सेनाले आफ्नो शासनको प्रतिरोधलाई दबाउने कठिन लडाइ गरिरहेको छ ।

विशेषज्ञहरू भन्छन्, “जमीनमा तीव्र विरोधको सामना भएपछि सेनाले गोलावारूद आक्रमण र हवाई शक्तिको सहारा लिइरहेको छ ।”

संयुक्त राष्ट्रसङ्घले गत वर्ष सेनाले ३०० भन्दा बढी हवाई आक्रमण गरेको बताएको थियो । सागाइङ जुन्टा विरोधी प्रतिरोधको हटस्पटको रूपमा देखा परेको छ ।

गत अप्रिलमा सेनाले सागाइङमा भएको एक भेलामा बम प्रहार गरेको थियो जसमा मिडिया र स्थानीयले करिब १७० जनाको ज्यान गएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *