डा. युवराज संग्रौला ।
प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गर्नुभयो। हरेक प्रधानमन्त्रीले पहिला भारतको भ्रमण गरेर भारत भक्ति देखाउनु पर्छ भन्ने मान्यता नेपालको गतिहीन तथा सिर्जनाहीन लोकतन्त्रले देखाएको छ। यता देशमा विद्वान, पत्रकार, प्राध्यापक आदि सँग तर्क छैनन् । गाली गलौज, कुन्ठा, उत्तेजना, लघुताभाष मात्र छन् । देशका प्रधानमन्त्रीले के गर्नुपर्छ, कसरी राष्ट्रको स्वार्थको प्रतिरक्षा गर्नुपर्छ, अनि त्यसो गर्न नसके जनताले के गर्नुपर्छ भन्ने भनाइ छैनन् कतै । पत्रिका टेलिभिजन सामाजिक संजाल रछानले भरिएका छन् । डर नेताले के फंटाइँ गर्लान् भन्दापनि अनाडी जनताले देश कसरी जोगाउलान् भन्ने हो आज।
१. राष्ट्रका नेताले आफ्नो राष्ट्रको स्वार्थ र आंकांक्षाको रक्षा गर्नुपर्छ । नेताले त्यसो अहिलेसम्म गर्न सकेनन् । भारतका अगाडि शिर झुकाएका छन् । मागेका छन्, गिडगिडाएका छन् । तर देशको बौद्धिक क्षेत्र ‘बाँदर प्रवृत्ति बोकेर उफ्रिरहेको छ। बाँदरले बनाउंँदैन बिगार्छ मात्र।’ यहाँ देशमा उफ्रिनेलाई देशको अस्तित्व, स्वार्थ र आकांक्षा होइन, पार्टीका, राजाका, व्यापारका, लुटका स्वार्थले पोलेको छ ।
२. भारतले हामीलाई सधैं ङ्याक्छ । हामीसँग माग्छ र दिएन भने खोस्छ । बाँदर अहिलेसम्म विकसित भएको छैन, त्यसैले उसको पुच्छर झरेको छैन भन्ने हामीलाई थाह छैन । हामी सन् १८१५ देखि देशमा विदेशी प्रभुत्वको सामना गरिरहेका छौं । सन् १८१५ को मलौन संन्धी, १८१६को सुगौली सन्धी, १९२३, १९४७ र १९५० को हाम्रो स्वाधीनता बन्देज गर्ने सन्धी, १९९६ को महाकाली सन्धी र २०१७ को एमसीसी सम्झौताले हामीलाई विदेशीका कठपुतली बनाएका छन् । विदेशी प्रभुत्व र राष्ट्रिय स्वाधीनताको बीचको अन्तरबिरोधलाई समाप्त पार्ने होइन जनतालाई नेता र राजा चाहिएको छ । देश रहे र बलियो रहेन र नेता, दल र राजा रहलान !
३.राष्ट्रको अर्थतन्त्र धारासायी भएको छ। तान्जानियाका राष्ट्रपति नेरेरेले माओलाई रेल मार्ग बनाउन सहयोग गर्दै भनेका थिए, ‘अर्थतन्त्रको विकास नभएसम्म राष्ट्रको स्वाधीनता नबाँच्ने रहेछ।’ आज देशमा दलका नेता र माफिया व्यापारीको गठजोड बनेको छ। व्यापारीलाई सांसद र नेतालाइ व्यापारी बन्नु पेरेको छ। दुबै धनी बनेका छन् । जो सत्तामा छ ऊ धनी छ, जो धनी छ ऊ सत्तामा छ । एउटा ओलीगार्की वा जहानियाँ समूह बनेको छ। उसले राज्य कब्जा गरेको छ। किसान, मजदुर, देशभक्त उद्यमी, इमान्दार व्यवसायी वा आमजनता लुटिएको छ। यसरी राज्यशक्ति र जनताका बीचको अन्तरविरोध राष्ट्रको चर्को समस्या बनेको छ। यस समस्यालाई छिमेकीले राम्रो बुझेको छ, तर प्रधानमन्त्री र सडकछाप उत्तेजित नागरिक समाजले बुझेका छैनन् ।
४. हामीले त नेपाल बनाउने हो। हामीले ओपन माइन्ड र सौहाद्रतामा आधारित नयाँ संस्कृतिको निर्माण गरेर’हाम्रा छिमेकीसँग् तर्क गर्नुपर्ने होला।’ नेता बिकाउ छन्, हो । अनि त्यसको समाधान चैं हामी देखाएको बाँदर बौद्धिकता हो । घण्टी बजाएर बाँदर बौद्धिकता र बिकाउ दिमाग भाग्छ ?
५. हेनेरी किसिन्जर र चाओएनलाई वार्तामा थिए। किसिन्जरले ताइवानको मुद्दा उठाए । ‘यो मुद्दा उठाउने अधिकार तंपाईंलाइ छैन । यो चीनको आन्तरिक मामिला हो । तपाईंहरु ताइवानबाट फौज कहिले हटाउनु हुन्छ, मुद्दा यो हो।’ चाओले भने। चिनियाँ कर्मचारीले अमेरिकी प्रवृत्ति परभुत्ववादी भयो, कुरा गर्न सकिन्न भने। ‘राम्रोसँग तयारी गर, तथ्य आधारित भएर कुरा गर, राष्ट्रको आकांक्षालाइ दिमागमा राखेर कुरा गर । रिस व्यक्त नगर । हामीले खेलाउनका लागि भुराभुरीले लंडाईं गरेजस्तो गर्ने होइन। हामी सभ्य मानिस हौं। हामीले भलाद्मी हुन जान्नु पर्छ।’ माओले भने ।
६. के हामी भारतसँग सभ्य भएर हारिरहेका छौं ? के हामी सभ्य भएर नेता तह लगाउन नसकेका हौं ? के हामीले देशको स्वाधीनता संरक्षण गर्ने तर्क र बौद्धिकता निर्माण गरेका छौं । हाम्रो बौद्धिकताको प्रतिनिधित्व त ….जी र सांसदको प्रतिनिधित्व त …. जीले गर्नुहुन्छ होइन र ? हाम्रा निवर्तमान मुख्य सचिवहरु कर्मचारीले भ्रष्टाचार गरेर देश यस्तो भएको भन्नू हुन्छ। उहाँहरुले त त्यसबेला बोल्नु भएन ।
मलाई लाग्छ, देशको दिमागमा ट्युमर पलाएको छ । अप्रेसन गर्नुको विकल्प छैन । देशलाई माया गर्ने, त्याग गर्न सक्ने, राज्यको ढिकुटी नखाने जनताको छोरो राजनीतिमा उदाउनुको विकल्प छैन । भारत गएको प्रधानमन्त्री होइन, राष्ट्रको दबित प्रवृत्ति हो । यो प्रवृत्ति देशमा जताततै छ। यसका विरुद्ध देश, संस्कृति र गुमेको राष्ट्रिय मनोविज्ञानको पुनर्जागरण आवश्यक छ । रोग नचिनी औषधि खाँदा ज्यान जाने जोखिम हुन्छ ।
