काठमाडौं । टीकापुर हत्याकाण्डमा संलग्न भएको अभियोगमा जिल्ला, उच्च हुँदै सर्वोच्च अदालतबाट दोषी ठहर भएका रेशम चौधरी राष्ट्रपतिले आममाफी दिएपछि जेठ १५ गते जेलमुक्त भएका छन् । चौधरीलाई आममाफी दिएपछि यतिबेला पक्ष विपक्षमा बहस भइरहेको छ । विगतमा रेशम निर्दोष रहेका र जेलमुक्त गर्नुपर्ने भन्दै भाषण गर्दै हिँडेका नेता पनि यतिबेला सरकारको यो निर्णयको विरोधमा उत्रिएएका छन् । खासमा विगतमा रेशमलाई जेलमुक्त गर्नुपर्ने भन्दै अभिव्यक्ति दिने एमाले अध्यक्ष ओली नेपाली कांग्रेसका महामन्त्री गगन थापा यतिबेला आममाफीको विरोध गर्दै हिँडेका छन् । २२ वैशाख, २०७९ मा कैलालीको बौनियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले चौधरीलाई जेल हाल्नुपर्ने कुनै कारण नभएको बताएका थिए । उनले भनेका थिए, ‘यो कैलालीमा टीकापुर घटना भयो। यो घटनाले गर्दा यहाँका थारू नेताहरू अहिले पनि जेलमा छन् । रेशम चौधरी र थारू नेताहरूलाई जेल हाल्नुपर्ने कुनै कारण छैन। हजार मान्छे मारिए, उनीहरूले जेलमा हुनुपरेन, तर थारू नेताहरूमाथि सरकारले हुँदै नभएको मुद्दा लगाएर थुनेर राखेको छ।’
सुन्नुस् एमाले अध्यक्ष ओलीको अभिव्यक्ति
तर रेशम आममाफी पाएर रिहा भएपछि भने एमालेले विरोध गरेको छ । शुक्रबार बसेको पार्टीको सचिवालय बैठकले गणतन्त्र दिवसको सन्दर्भ पारेर जेठ १५ गते टीकापुर घटनाका आरोपी पूर्व सभासद रेशम चौधरीलाई आममाफी दिनुले गम्भीर प्रश्न उठाएको निष्कर्ष निकालेको छ । एमालेले सर्वोच्च अदालतको फैसलाको पूर्णपाठसमेत नआउँदै सत्ता स्वार्थका लागि चालिएको कदमले विधिको शासनलाई चुनौति दिएको उल्लेख गरेको छ । एमालेको निर्णयमा भनिएको छ, ‘सर्वोच्च अदालतको फैसलाको पूर्णपाठसमेत नआउँदै नितान्त सत्ता स्वार्थका लागि गरिएको कदमले विधिको शासनलाई चुनौति दिएको छ । त्यसले दण्डहीनतालाई संस्थागत गर्ने, कर्तव्यपालनाका सिलसिलामा खटिएका सुरक्षाकर्मीको मनोबल गिराएको छ । यसले सर्वसाधारणको पीडामा नुनचुक छर्किने काम गरेको छ । नेकपा एमालेको केन्द्रीय सचिवालयको यो बैठकप्रति गम्भीर आपत्ति जनाउँछ ।’
कैलालीको बौनियामा गरेको ओलीको भाषण र शुक्रबारको सचिवालय बैठकको निर्णय एकअर्कामा विरोधाभाष छ । यस प्रकरणमा ओलीले विगत बिर्सिएको देखिन्छ ।
त्यसैगरी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि रेशमलाई आममाफी दिएको प्रति आपत्ति जनाउँदै आएका छन् । तर उनले २०७७ मंसिर २९ मा धनगढीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै टीकापुर घटनामा रेशमसहितका नेताहरूलाई न्याय दिलाउन आफू प्रतिवद्ध रहेको बताएका थिए। उनले भनेका थिए,’थारु साथीहरुले बुझ्नुपर्छ आज नेपाली कांग्रेस चाहन्छ टीकापुरको त्यो घटनालाई बिर्सिन्न तर त्यो दुःखद घटनालाई सम्झिँदै त्यहाँभित्र अन्यायमा परेका साथीहरुलाई न्याय दिलाउनुपर्छ भन्ने पक्षमा नेपाली कांग्रेस छ ।’ तत्कालीन केपी ओली नेतृत्वको सरकारको विरोध गर्दै उनले उक्त घटनालाई नतन्काएर हल खोज्नुपर्नेमा सरकारमा रहेको कम्युनिष्ट पार्टीले के गरिरहेको छ भनी प्रश्न गरेका थिए ।
तर शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा महामन्त्री थापाले पार्टी सभापति देउवाको एकल सहमतिमा सरकारले पार्टीको आधारभुत मान्यता विपरित रेशम चौधरीलाई आममाफी दिने काम गरेको आरोप लगाउँदै त्यस्ता गतिविधिबिरुद्ध संघर्ष गर्ने बताए । उनले भने, ‘आममाफीको विषय पार्टी सभापतिको एकल निर्णय हो, अब सहन्नौं ।’
सुन्नुस् थापाको अभिव्यक्ति
कैलाली पुग्दा टीकापुर घटना र रेशम चौधरीको मुद्दाका विषय नेताहरूले सम्झिने र उनका पक्षमा बोल्ने अनि आममार्फी दिएपछि विरोध गर्ने कस्तो विरोधाभाष अभिव्यक्ति ?
